सन्दर्भ: बाबुकाे मुख हेर्ने दिन ।
बुवा सधै‌ भन्नुहुन्छ– कलंकित हुने काम नगर्नू
चन्द्र घिमिरे
फरकधार / ३ भदौ, २०७७

बुवाले सानै उमेरमा घर छाड्नुपर्यो, भारतीय लाहुरेमा जान । लाहुरे जीवन व्यतीत गर्दा उहाँले धेरै कुरा देख्नु–भोग्नुभयो । संघर्षै संघर्षले भरिएको जीवन थियो उहाँको । त्यसरी लाहुरे हुँदा बुवाले दुई कुरा एकदमै गहिरो रुपमा अनुभूति गर्नुभयो, जुन कुराको अभाव आफ्ना सन्तानले भोग्नु नपरोस् भनेर सक्दो प्रयास गर्नुभयो ।



पहिलो, औपचारिक शिक्षाको महत्व । मेरो बुवा इतिहासको एकदमै ज्ञाता हुनुहुन्छ । उहाँलाई विश्व इतिहासको घटनाक्रमको तिथि–मितिसहित याद छ । हामीलाई उहाँले ती कुरा सानैदेखि बताउनुहुन्थ्यो । तर, तिथि–मितिसहित संसारको इतिहासबारे ज्ञान राख्ने उहाँले कहिल्यै स्कलुको दैलो टेक्न पाउनुभएन । उहाँले सबै कुरा स्वअध्ययनबाटै थाहा पाउनुभएको हो ।

उहाँसँग कति ज्ञान छ भने मलाई लाग्दैन कि म कहिल्यै उहाँलाई भेटाउन सक्छु । मलाई यस्तो लाग्छ, उहाँको अगाडि म निकै कमजोर छु र सधैँ कमजोरै रहनेछु । बुवाको ज्ञानको अगाडि पुग्नु मेरा लागि सधैँ चुनौती हो । यति हुँदाहुँदै पनि स्कुल जान नपाएको पीडा बोध हुन्छ, उहाँलाई । 

त्यसैले, हामी तीनै सन्तानलाई पढाउन उहाँले धेरै मिहिनेत र प्रेरित मात्र गर्नुभएन, एकाग्र भएर पढ्ने तरिका पनि सिकाउनुभयो । 

चन्द्र घिमिरेअनि अर्को कुराचाहिँ, सरकारी जागिर खाने । जसरी उहाँले हामीलाई सधैँ पढ्न पे्ररित गर्नुहुन्थ्यो, त्यसरी नै उहाँले सधैँ सरकारी जागिर खानुपर्छ भन्नुहुन्थ्यो । 

उहाँ एकदमै अध्ययनशील हुनुहुन्थ्यो । क्याप्टेन पदको मानार्थ उपाधि पाएर रिटायर्ड हुनुभयो । फौजमा हरेक दृष्टिबाट अरुजत्तिकै अब्बल । हरेक काममा उहाँ नभई नहुने । तर, एउटै पोस्टमा रहेर एउटै काम गर्दा पनि उहाँले अरुले भन्दा कम मान पाउने । आफूभन्दा साना उमेरका अफिसरले धेरै मान पाएको देख्दा उहाँलाई सधैँ खड्किन्थ्यो– हामी एउटै काम गर्छौं, तर यिनीहरुलाई मलाई भन्दा बढी मान किन दिइन्छ ?

यसको उत्तर उहाँले केही समयमा पाउनुभयो । र, उत्तर थियो, औपचारिक शिक्षा । आफूसँग औपचारिक शिक्षा नभएकै कारण अरुभन्दा कम सम्मानित भएको कुरा उहाँले बुझ्नुभयो । त्यसपछि नै हो, उहाँले औपचारिक शिक्षा र सरकारी जागिरको महत्व बुझ्नुभएको । 

बुवाको त्यही प्रेरणाले नै होला, म सरकारी जागिरमा लागेँ । अहिले सोच्दा लाग्छ, शिक्षाको महत्व र सरकारी जागिरको महत्वको बिउ त्यति बेला रोपिएको रहेछ । 

सन् १९७१–०७२ मा भारत र बंगलादेशको युद्ध हुने भयो । उहाँ युद्धमा जानुपर्ने भयो । आफू त्यहाँ गएपछि हाम्रो पढाइ नबिग्रियोस् भनेर उहाँले हामीलाई भोजपुरबाट धरान ल्याएर शिक्षा दिनुभयो । हामीलाई धरानमा स्कुल भर्ना गरेर लडाइँमा जानुभयो । 

उहाँले हामीलाई फौजमा हुँदा बेलाबेलामा चिठी लेखिरहनुहुुन्थ्यो । अहिले जस्तो सञ्चारका सहज साधन नभएकाले उहाँले हरेक ६ महिनाजस्तोमा हामीलाई चिठी नै लेख्नुहन्थ्यो । 

बुवाले चिठीमा यस्ता कुरा लेख्नुहुन्थ्यो कि जसले हामीलाई पढ्नुपर्छ भनेर एकदमै प्रेरित गर्थे । उहाँले फौजमा हुँदा आफूले देखेका, भोगेका र महसुस गरेका कुरा लेख्नुहुन्थ्यो । उहाँले नेहरू, महात्मा गान्धी र इन्दिरा गान्धीलाई धेरैपटक आफ्नै आँखाअघि देख्न पाउनुभयो । उनीहरुसँग भेट्दा, बोल्दा के–कस्ता कुरा हुन्थे, ती सबै लेख्नुहुन्थ्यो, पत्रमा । 

हरेक पत्रमा लेख्न नछुटाउने एउटा लाइन हुन्थ्यो– जंगलको काँडालाई कसैले तिखार्नुपर्दैन त्यो आफैँ तिखारिन्छ । ‘इख नभएको छोरा र विष नभएको सर्प’को काम छैन । जीवनमा केही गर्नुपर्छ भन्ने अठोट सधैँ हुनुपर्छ । 

उहाँले भेटेर बोल्दा पनि यो कुरा भनिरहनुहुन्थ्यो । उहाँले सधैँ दोहोर्याइरहने यो लाइनले मलाई धेरै प्रेरित गथ्र्यो । बुवाका यी दुई कुरा म सधैँ सम्झिन्छु । उहाँका यिनै शब्दहरुले नै जीवनमा केही गर्नैपर्छ भन्ने लाग्न थाल्यो । 

बुवासँग चन्द्र घिमिरे ।

बुवाको लेखाइ पनि एकदमै सटिक र चोटिलो हुन्थ्यो । त्यो बेला चलनचल्तीमा यस्तो थियो, चिठीको भित्री भागमा लेखिन्थ्यो र त्यसलाई दोबारेर खाम बनाइन्थ्यो । भन्नुको अर्थ चिठीमा धेरै कुरा अट्दैनथे । तर, उहाँले जुन शैलीमा पत्र लेख्नुहुन्थ्यो त्यो एकदमै चोटिलो हुन्थ्यो । उहाँ विम्बमा लेख्नुहुन्थ्यो । उहाँका हरेक पंक्तिमा विशाल अर्थ हुन्थ्यो । म त्यसलाई निकै गहन रुपमा पढ्थेँ । अहिले सम्झिँदा लाग्छ, उहाँकै लेखन शैलीबाटै ममा साहित्यको बिउ पोखिएको हो । पछि त्यो बिउ हुर्किंदै गयो । 

उहाँले पत्रमा उल्लेख गरेका पात्रका बारेमा म अध्ययन गर्थें । उहाँले नेहरू, इन्दिरा र गान्धीबारे लेखेका कुरा आफूले पढेका पुस्तकमा कत्तिको मिल्छन् भनेर म उनीहरुको आत्मवृतान्तमा पढ्थेँ । ५–६ कक्षादेखि नै लाइब्रेरीमा जाने बानी बस्यो । कोर्स बुकमा भन्दा त्यस्ता साहित्यिक र ऐतिहासिक पुस्तकमा ध्यान जान थाल्यो । लाइब्रेरीमा बसेर बुवाले सुनाउनुभएका कुरा दाँजेर बुझ्ने प्रयास गर्थें । पत्रमा उहाँले आफूले विभिन्न युद्धमा लड्दा भोगेका कुरा यसरी बयान गर्नुहुन्थ्यो कि त्यो पढेर मलाई कुनै सिनेमा हेर्दै छु भन्ने लाग्थ्यो । उहाँको लेखन र वाचन शैली निकै राम्रो थियो । म धेरै प्रभावित भएको छु उहाँको लेखन र वाचन शैलीबाट । 

बिस्तारै के लाग्दै गयो भने उहाँले कहिल्यै स्कुल जान नपाएर स्वअध्ययन गरेर त यति ज्ञान बटुल्नुभयो भने हामी त स्कुलमा जान पायौँ, हामीले केही न केही त गर्नैपर्छ भन्ने भाव जाग्न थाल्यो । बुवाले स्वअध्ययन गरेरै यति कुरा गर्नुभयो, ठुल्ठूला पहुँच भएका मान्छेको संगत गर्नुभयो भने हामी त स्कुल जान पाएका छौँ, पढ्न पाएका छौँ । त्यसैले जसरी पनि राम्रो गर्नुपर्छ । बुवाले भन्दा धेरै गर्नुपर्छ भन्ने भाव मनमा उत्पन्न हुन थाल्यो । 

 

चन्द्र घिमिरेका बुवा नरनाथ घिमिरेकाे याे संस्मरण पनि पढ्नुहाेस्:

आँखै अगाडि गान्धी, नेहरु र राजेन्द्र प्रसादलाई देख्दा...

 

मैले २०३८ सालमा एसएलसी पास गरेको खबर सुन्नुभएपछि आफ्नो ब्यारेकमै मिठाई बाँड्नुभएको थियो रे ! उहाँलाई लागेछ, छोरालाई चढाउन चाहेको शिखरको पहिलो खुड्किलो उसले पार गर्यो । आफ्नो सन्तानले पहिलो खुड्किलो पार गर्यो भनेर धेरै खुसी हुनुभएको थियो, उहाँ । 

बुवाको हामीलाई माया र प्रेरित गर्ने तरिका छुट्टै किसिमको हुन्थ्यो । उहाँ हामीलाई सप्राइज रुपमा उपहार दिनुहुन्थ्यो । उहाँले मलाई सप्राइज रुपमा दिएका दुई किस्सा म अहिले पनि सम्झिन्छु । 

मलाई रेडियो एकदमै मन पर्थ्यो । तर, हाम्रो घरमा रेडियो थिएन । एक छिमेकी दाइको रेडियो थियो, जसको आवाज हाम्रो घरसम्मै सुनिन्थ्यो । रेडियो नेपालमा दुर्गानाथ शर्माको समाचार वाचन मलाई बडो मीठो लाग्थ्यो । त्यस्तै, म बिबिसी हिन्दी र नेपाली सेवा पनि खुबै सुन्थेँ । रेडियो सुन्ने लत नै बसिसकेको थियो । 

एक–ढेड वर्षमा घर आउनुहुन्थ्यो बुवा आउँदा सधैँ रेडियो लिएर आउनुहुन्थ्यो ।

मैले बुवालाई रेडियो छाडेर जानुस् न भन्थेँ । 

उहाँले भन्नुहुन्थ्यो– घरमा रेडियो छाडेपछि तँ दिनभर रेडियो सुनेर बिग्रिन्छन् । एसएलसी पास गरेपछि किनिदिन्छु । 

मैले उहाँलाई धेरैपल्ट भनेको थिएँ । उहाँले मान्नुभएन । सात कक्षामा पढ्दा हुनुपर्छ, एकपटक भने उहाँले त्यो वेलाको प्रख्यात पानासोनिक ब्राण्डको रेडियो नभनीकनै ल्याइदिनुभयो, मेरो लागि । उहाँलाई लागेको हुँदो हो– रेडियो सुनेर मान्छेले धेरै कुरा सिक्नुपर्छ । मलाई लाग्छ, उहाँले मलाई विश्वास गरेर त्यो रेडियो ल्याइदिनुभएको  हो । मैले पनि रेडियोको दुरुपयोग कहिल्यै गरिनँ । बरु, त्यो रेडियोलाई मैले संसार हेर्ने आँखीझ्यालका रुपमा प्रयोग गरेँ । मेरो संसारलाई बुझ्ने दायरा फराकिलो हुँदै गयो । 

उहाँले मलाई एकपटक घडी ल्याइदिनुभएको थियो । एसएलसी पास गरेपछि उहाँले मलाई त्यो वेलाको एकदमै चर्चित एचएमटी कम्पनीको घडी किनिदिनुभयो, सप्राइज रुपमा । 

बाल्यकालमा उहाँ हामीबाट सधैँ टाढा रहनुभयो । तर, उहाँका तिनै पत्र र पत्रमा लेखिने कुराले हामीलाई कहिल्यै त्यस्तो अनुभव हुन दिएन । भौतिक रुपमा सधैँ सँगै नभए पनि भावनात्मक रुपमा उहाँ सधैँ सँगै भइरहनुभयो । उहाँ सँगै नभए पनि सधैँ गाइडको रुपमा सँगै हुनुहुन्छ भन्ने लाग्थ्यो । उहाँले हामीलाई पढाउने खर्च मात्र जुटाउनुभएन, पढ्न सिकाउनमा, एकाग्र भएर पढ्नमा, आफ्नो लक्ष्य पहिल्याएर अगाडि बढाउनुमा पनि सहयोग गर्नुभयो । 

उहाँले अधिकांश समय बाहिर हुनुभएकाले मलाई सानैदेखि  घरको जिम्मेवारी मैले लिनुपर्छ भन्ने भाव थियो । घरप्रति जिम्मेवारी हुनुपर्छ भन्ने कुरा पनि उहाँबाटै सिकेको हुँ । 

सन् १९८६ मा रिटायर्ड भएर घर आउनुभयो । त्यसपछि उहाँसँग अलि समय बिताउन पाएँ । अहिले ९३ वर्षको हुनुभयो । उहाँले मलाई अहिले पनि वेलावेलामा सम्झाइरहनुहुन्छ । गाइड गरिरहनुहुन्छ । आत्मस्वाभिमान र आत्मसम्मानमा एकदमै कठोर हुनुहुन्छ, सजग हुनुहुन्छ । 

उहाँले हामीलाई सधैँ भन्नुहुन्छ– कसैले दोष लाउन सक्नेगरी कहिल्यै कुनै काम नगर्नू । कलंकित हुने काम नगर्नू । 

मैले उहाँको यस्तै उक्तिहरुलाई जीवनभर शीरोधार्य गरेको छु र गरिरहने छु । म आफैँलाई हरेक दिन भनिरहन्छु– तैँले आफूलाई कलंकित गर्ने काम गर्नुहुन्न । 

  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार २०:३६:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया