महँगियो फलफूल, पसलैपिच्छे फरक मूल्य

दसैंको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरू मारमा छन् ।

चाडपर्वका बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता वस्तुहरुको मूल्य बजारै पिच्छे फरक परेको देखिन्छ । फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै बिक्री हुने वस्तु हो । 

उपभोक्ताहरूले मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेटिएका उपभोक्ता ऋषिकेश पोखरेलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलै पिच्छे मूल्यमा फरक परेको बताए । चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिँदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनले बताए ।

व्यापारीहरू भने थोक व्यापारीहरूका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक परेको बताउँछन् । आफूहरुले मूल्य बढाएको भन्दा पनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिँदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको उनीहरुको भनाइ छ । नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गर्दै आएका पुजनकुमार शाहले मूल्यमा एकरुपता नहुनेको कारण होलसेल बिक्रेताहरु नै रहेको बताए । होलसेल पसलमा नै एउटै जातको स्याउ प्रतिपेटी १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म पर्ने भएकाले भाउमा फरक परेको बताए । यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उनले बताए । 

कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औषतमा २४५ रूपैयाँदेखि ३१० रुपैयाँ तोकेको छ । त्यस्तै केरा प्रति दर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ । भारतीय सुन्तला भने प्रतिकेजी १०५ रुपैयाँ रहेको छ । त्यस्तै अनार ३१० रुपैयाँ प्रतिकेजी रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १६:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया