७० वर्ष नाघेका नेताले घरमै आराम गरे हुन्छ : सुशीला कार्की
देश युवा पुस्तालाई जिम्मा लगाउन आग्रह

काठमाडौं : पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको नेतृत्व अब युवाहरुलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन्। 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्कीले ७० वर्ष नाघेका नेताहरुले विश्राम लिएर युवा पुस्तालाई देशको नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी हुन्। 

पूर्व प्रधानन्यायाधीश कार्कीले देश एउटा ट्रयाकमा अघि बढ्न सकेमा १०/१२ वर्षमै स्वीटजरल्यान्ड जस्तै विकसित हुन सक्ने बताइन्। 

‘एक खालको नेताहरु हुनुहुन्छ जो लडिरहनु भएको छ, भिडिरहनु भएको छ। उहाँहरुले छोडेर युवालाई जिम्मेवारी थुपारिदिए हुन्छ। उनीहरु विदेश नगएर यहीँ काम गरे भने धेरै गर्न सक्छन्’, कार्कीले भनिन्, ‘७० वर्ष पूरा भएकाले त घरमा बसेर आराम गरिदिए हुने हो नि! 'योङ जेनेरेशन'लाई खट्न दिनुपर्ने हो अब त। अब देश विकासको काम बुढा नेताहरुले गर्न सक्नु हुन्न।'

कार्की सरकार गठनसहितका अन्य विकल्प बाँकी रहँदासम्म संसद् विघटनको कुरा संविधानले परिकल्पना नै नगरेको पनि जिकिर गरेकी छन्। 

‘हाउसले सरकार दिनै सबै विकल्प बन्द भएको अवस्थामा मात्रै विघटनमा जान पाउँछ सरकार बन्नै नसक्ने हो भने अहिले ट्रायल भएकै छैन’ कार्कीले भनिन्, ‘पार्टी एउटै छ रे, प्रधानमन्त्रीले हाउसमा ६४ प्रतिशत छ पनि भन्नुहुन्छ। यो कस्तो विघटन हो ?’



कार्कीले देशको आर्थिक अवस्था कमजोर भएको पनि बताइन्। उनले कोरोनाविरुद्धको औषधि किन्‍न पैसा नभएका बेला चुनाव  गराउन लागिएको भन्दै प्रश्न गरेकी छन्। कार्कीले वैशाखका लागि निर्वाचनको मिति तोकिएसँगै देशमा महँगी चुलिएको पनि जिकिर गरिन्। 

चुनावको घोषणासँगै बजारमा चर्को मूल्य वृद्धि भएको उनको भनाइ छ। नेताहरु जुहारीमा व्यस्त भएकाले सरकार आफ्नो काममा केन्द्रित नहुँदा गडबडी सुरु भएको उनको भनाइ थियो।



भिडियो

  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार २३:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया