प्रचण्डले फेरि गर्न चाहेको लडाइँ कस्तो हो?
बारम्बार सम्झिरहहन्छन् जनयुद्धलाई

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि १० वर्षे जनयुद्धलाई सम्झिने गर्छन् । र, मौका पाउनासाथ सार्वजनिक मञ्चहरूमा भन्छन्,‘फेरि एकपटक लडाईं लड्नपर्ने भएको छ ।’

४२ वर्षको उमेरमा जनयुद्ध थालेर ५२ वर्षको हुँदा विश्राम लिएका उनी अहिले ६६ वर्षका भइसकेका छन्। तर पनि उनी एक पटक एउटा लडाइँ लड्नै पर्ने भएको तर्क गरिरहन्छन्। आइतबार दिउँसो दलित मुक्ति मोर्चाको कार्यक्रममा सम्बोधनका क्रममा दुई महिनाअघि सम्मका सहयात्री केपी शर्मा ओलीलाई सम्झिँदै आक्रोशित भए । 

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा जब उनले केपी ओलीलाई सम्झिए तब भनि गए, 'अब अर्को लडाईं लड्नपर्ने अवस्था आएको छ, जीवन रहुञ्जेल लडाइँ लडिरहन्छु।'

उनले हिजोको सम्बोधनमा ओली प्रतिगामी निस्किएर अहिलेसम्मका सबै उपलब्धि खोस्न लागेकाले अर्को लडाइँको आवश्यकता परेको तर्क गरेका थिए। उनले गणतन्त्रका लागि लड्दै नलडेको व्यक्तिका हातमा सत्ता पुग्दा संघीयता, गणतन्त्र र समावेशीसहितका उपलब्धि गुम्ने खतरा भएको पनि जिकिर गरे। 

प्रचण्डले अर्को लडाईंको थालनी गर्ने बताएको यो पहिलो पटक होइन। यसअघि पनि विभिन्‍न सम्बोधनमा उनले अन्तिम समयसम्म लडाईं लडिरहने बताउने गरेका छन्। यसअघि उनले गत माघ ९ गते प्रतिनिधिसभा विघटनविरुद्ध रत्नपार्कमा भएको  विरोधसभा बोल्दै अर्को युद्ध हुन सक्ने चेतावनी दिएका थिए। उनले त्यसबेला प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई सर्वोच्च अदालतबाट सदर गरिए शान्ति बिग्रिन सक्ने बताएका थिए।



'नेपाली जनताले फेरि युद्ध होस् भन्ने चाहेका छैनन्। सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशहरू युद्ध भएको हेर्न चाहँदैनन्', दाहालले भनेका थिए, 'केपी ओलीको स्वेच्छाचारी कदमलाई सदर गरियो भने मैले युद्धमा जान खोजेको त होइन, युद्ध नै हुन्छ भन्न खोजेको त होइन....'

उनले युद्ध पनि हुन सक्ने संकेत गर्दै अहिलेलाई शान्तिपूर्ण रुपमै ओलीको कदम सच्याउने बताए। 'अहिलेलाई शान्तिपूर्ण रुपमा लाखौँ लाख जनता सडकमा उतारेर भए पनि हामी यो कदम सच्याउँछौँ, त्यसमै मेरो निरन्तर प्रयास भइरहनेछ', उनले भनेका थिए, 'तर केपीको कदमलाई प्रोत्साहित गरियो भने नेपालको शान्ति प्रक्रिया फेरि बिग्रिन सक्छ, त्यसप्रति न्यायाधीशहरू पनि सचेतता अपनाउनुपर्छ। मलाई लाग्छ न्यायाधीशहरूले त्यो चाहनु भएको छैन।'



जनयुद्धको याद कि साँच्चै युद्ध ? 

२२ वैशाख ०७६ मा अध्यक्ष प्रचण्डले आफू फेरि एकपटक जंगल जानसक्ने उद्घोष गरे। काल मार्क्सको २०१ औँ जन्म स्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त उद्घोष गरेका थिए । 

म के ठान्छु भने सम्पूर्ण चिज त्याग गरेर फेरि एकपटक जंगलमा जानु परे जान पनि सक्छु। यो कुरा मलाई पटक्कै गाह्रो लाग्दैन । कतिपय कसरी सकिन्छ भन्छन् । तर, तपाईंहरुको साथ चाहिन्छ म जान सक्छु', उनले त्यही बेलामा भनेका थिए। उनले त्यस बेला सभामा उपस्थित आफ्ना नेता-कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

त्यसपछि गत २ फागुन ०७७ मा माओवादी पार्टी कार्यालयमा २६ औं जनयुद्ध दिवसमा आयोजित कार्यक्रममा पनि प्रचण्डको सम्बोधन उही शैलीको आयो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन थियो । 

संयुक्त मोर्चा बनाएर ओलीको कदमविरुद्ध आन्दोलनरत नेपाल समूह पनि पेरिसडाँडामा आयोजित उक्त सभामा सहभागी थियो । सो सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘शहीदहरुलाई सम्झिने भनेको हामी तिनीहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धि गुम्न दिने छैनौं भन्ने हो । हामी जरुरी पर्छ भने फेरि बलिदान हुन तयार छौँ भनेर संकल्प गर्ने दिन हो आज ।’ 

प्रचण्ड त्यतिमै रोकिएका छैनन् । ११ फागुनमा सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि हौसिएका प्रचण्डले २३ फागुनमा सर्वोच्चले गरेको अर्को निर्णयपछि आक्रमक भाषण गर्दै आएका छन्।
 
प्रचण्ड २७ फागुनमा फेरि आन्दोलन गर्ने चेतावनीसहितको भाषा उनले प्रयोग गरे । फेरि क्रान्तिमा जाने बताउँदै प्रचण्डले आफू लड्नेवाला नै भएको तर्क गरेका हुन्। केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले त्यसो भनेका थिए।

‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए,’ उनले अगाडि भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेवाला छु, म छोड्नेवाला छैन, लड्नेवाला छु ।’

म त लड्छु  लड्छु

२७ फागुनपछि हिजो आइतबार दलितहरुसँगको कार्यक्रममा अध्यक्ष प्रचण्डले अर्को लडाईं लड्नुपर्ने भएको बताउँदै अब बाँचुन्जेल लड्ने बताए। 'अब अर्को लडाइँ लड्नुपर्ने भएको छ, म बाँचुन्जेल लड्छु । जनयुद्ध थाल्दा ४२ वर्षको थिएँ, जनयुद्ध छाड्दा ५२ वर्ष भएको थिएँ', प्रचण्डले भने, 'अब फेरि लड्नु पर्ने भयो। अन्तिम समयसम्म यो लडाइँ लडिरहन्छु । म वातावरणलाई सहज बनाउने सम्भावनालाई नजरअन्दाज गर्दिनँ।’

प्रचण्डको अबको लडाईं कस्तो?

पटक-पटक प्रचण्डले लडाईं आवश्यक रहेकाले फेरि लड्छु भनेको कस्तो हो त? १० वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको माओवादी केन्द्र अहिले एक्लै छ। नेकपा खारेज भएसँगै एमालेसँगको करिब तीन वर्ष लामो सहयात्रा टुंगिएपछि नेकपा माओवादी केन्द्रले फेरि एक्लो यात्रा थालेको हो। धेरैलाई अबको माओवादीको तत्कालीन र दीर्घकालीन कार्यनीतिबारे चासो छ।

यसबारेमा प्रचण्डकै सहयोगीहरु अबको लडाइँ शान्तिपूर्ण नै हुने बताउँछन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले पनि त्यही बुझेका छन्। 'शान्ति प्रक्रियामा आइसकेपछि हिजोको जस्तो हतियार नै बोकेर युद्ध गर्ने भन्ने हुँदैन', उनले फरकधारसँग भने। 

'जनयुद्धले उठाएका मुद्दाहरु अझै स्थापित नभएको उनले बताए। 'हिजो उठाइएका ती मुद्दाहरूमा अहिले प्रतिघात हुँदैछ', सापकोटाले भने, 'त्यसविरुद्ध लड्नका लागि सबै जातजाति, हेपिएका क्षेत्र वर्ग, लिंग आन्दोलनमा जानुपर्ने आवश्यक्ता छ भन्‍नुभएको हो अध्यक्षले, हतियार उठाउने कुरा गर्नु भएको होइन।’

गणतन्त्रका उपलब्धिलाई संरक्षण गर्नका लड्नैपर्ने अवस्था आएको कुरा अध्यक्ष प्रचण्डले राखेको उनले बताए।  वाईसीएल नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’परिवर्तन र त्यसका उपलब्धिलाई उल्ट्याउन खोजिए पहिलाको झैँ आन्दोलनमा जानुपर्ने सन्देश अध्यक्ष प्रचण्डले दिएको बताउँछन् ।

'खासगरी परिवर्तनप्रति प्रतिगमनको खतरा मडारिइरहेको छ। केपी ओलीले एकपछि अर्को प्रतिगामी कदम चालिरहेको अवस्था छ, अध्यक्षको भनाइ त्यसप्रति लक्षित हो', उनले फरकधारसँग भने, 'प्रतिगमनको खतरा रहेकाले त्यसविरुद्ध लड्न तयार हुनुपर्छ भन्ने अध्यक्षको संकेत हो।’

हिजोसम्मका सहयात्री प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशी एजेन्ट भनेको बारे पनि दीपशिखाले बचाउ गरे। ‘नेपाली राजनीतिमा ओली एकपछि अर्को शर्तसहित विदेशी एजेन्डाबाट परिचालित छन्', उनले भने, 'तिनीहरुविरुद्ध लड्न तयार भएर बस्नुपर्छ भन्ने सन्देश उहाँले दिनु भएको हो।’

  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १४:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया