गुनासो लिएर पुगेका सेवाग्राहीलाई उर्लाबारीका मेयरले कार्यालयमै कुटपिट गरे

गुनासो लिएर पुगेका एकजना सेवाग्राहीलाई मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कुटपिट गरेका छन्।  टहरो निर्माण रोकिदिएपछि गुनासो गर्न पुगेका उर्लाबारी नगरपालिका-५ का विष्णुप्रसाद भण्डारीलाई मेयर फागोले कुटपिट गरेका हुन्।

भण्डारीलाई फागोसहित भतिजा दुर्गा फागो, स्थानीयले ड्राइभर भनेर चिन्ने दीपेन्द्र धिमाल लगायतले कुटपिट गरेका हुन्। गुनासो लिएर भण्डारीसँग उर्लाबारी नगरपालिका-८ का नारायण बस्नेतलाई पनि फागोसहितले कुटपिट गरेका छन्। 

आफ्नो पक्की टहरो निर्माणमा अवरोध गरेको भन्दै भण्डारीले गत माघ ४ गतेदेखि गुनासो लिएर नगरपालिकामा धाइरहेका थिए। भण्डारी निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेको कार्यकक्षमा आफ्नो काम रोकिएको भन्दै गुनासो गरिरहेका थिए।

घिमिरे ‘यसबारेमा मेयरलाई सोध्नु' भन्दै पन्छिए। त्यसपछि उनी मेयरको कार्यकक्षतर्फ गएका थिए। त्यही बेला आफूहरूमाथि दुर्गा फागो र ड्राइभर धिमालले कुटपिट गरेको भण्डारीले  बताए। कुटपिट भइरहँदा रोक्न छाडेर मेयर फागो पनि रिसले आक्रोशित हुँदै भण्डारी र बस्नेतलाई लात्ती हान्न आफैँ उत्रिएका प्रत्यक्षदर्शीको भनाइ छ।

मेयर आफैंले कुटपिट गरिरहँदा नगर प्रहरी र कर्मचारी रमिते बनेको पीडितहरुको गुनासो छ। कुटाइ खाएका दुवैजनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले पक्राउ गरेको थियो।  प्रहरी निरीक्षक कुन्दन देवले मेयर फागोको बचाउ गर्दै नगरपालिकामा आक्रमण  गर्न आएको सूचना आएपछि समातिएको बताए।

कुटाइ खाएका भण्डारीले गत पुस ४ गते उर्लाबारी नगरपालिका ५ निवासी युवा प्रवीण बास्तोलाको हत्या प्रकरणमा पीडित पक्षलाई सघाएको भन्दै मेयर फागोले रिसिबी साँधेर कुटपिट गरेको बताए। फागो र भण्डारी छिमेकी पनि हुन्।



यसबारेमा प्रतिक्रिया लिन खोज्दा फागोले विस्तृतमा बोल्न चाहेनन्। उनले कुटपिट गरेको अस्वीकार गर्दै उल्टै दुवैजनाले कार्यालयमा आएर अराजकता देखाएपछि प्रहरीले समातेर  लगेको दाबी गरे। 

त्यही घटनालाई अदालतसम्म लैजान सघाएका बस्नेतसँग पनि रिसाएक थिए। स्थानीयबासीले गुनासो लिएर पुगेका सेवाग्राहीमाथि मेयर नै कुटपिटमा उत्रिनु निन्दनीय भएको बताएका छन्। यसअघि पनि मेयर फागो गुण्डागर्दी शैलीमा उत्रिएको भन्दै आलोचना हुने गरेको थियो। 
 



  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १५:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया