मिलेन एमालेमा कुरो, माधव पक्षीय सांसदहरुले भोलि राजीनामा दिने
खतिवडाले भने : राजीनामा ९९ प्रतिशत तय भइसक्यो

सत्तारुढ नेकपा एमालेको एकता बचाइराख्ने प्रयास असफल भएको छ। यो साता लगातार भएको वार्तामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७७ फागुन २८ को निर्णय सच्याएर २०७५ जेठ २ मा फर्किन तयार नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुले राजीनामा तयारी गरेका हुन्। 

ओली टसमस नभएपछि माधव पक्षीय सांसदहरुले भोलि दिउँसो संसद सचिवालयमा राजीनामा बुझाउने तयारी गरेका छन्। माधव पक्षीय एकजना सांसद विरोध खतिवडाले भोलि नै आफूहरुले सामूहिक राजीनामा तयारी गरेको बताए। 

'अध्यक्ष केपी ओलीले कुनै पनि रेस्पोन्स गरेका छैनन्', उनले भने, 'हिजोको वार्ता पनि उनकै कारण भङ्ग भयो। त्यसकारण आज रातभरि र भोलि बिहानसम्म चमत्कार भएन भने भोलि राजीनामाको सम्भावना ९९ प्रतिशत तय भइसकेको छ।'

उनले आज रातभरिमा केपी ओलीले रेस्पोन्स नगरेमा भोलि नै राजीनामा बुझाउने जानकारी दिए। 'आजै रातिसम्म अवस्था फेरिने सम्भावना हामीले देखेका छैनौँ', उनले फरकधारसँग भने, 'हामी भोलि नै सामूहिक राजीनामा दिएर पूर्व सांसद हुनेछौँ।'

ओली समूह र नेपाल समूहबीच यो साता मंगलबारदेखि निरन्तर वार्ता चलेको थियो। सिंहदरबार, होटल याक एन्ड यति, होटल मेरियट हुँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि पटक पटक वार्ता भएको थियो।

एमालेमा देखिएको विवाद मिलाउन संगठन विभाग प्रमुख विष्णु पौडेल र सुवास नेम्बाङ लागेका थिए। अर्कातिर माधव पक्षीय नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट निरन्तर वार्तामा जुटेका थिए। 



तर ओलीले फागुन २८ को निर्णयबाट पछि हटेर जेठ २ मा जान नमानेको सांसद खतिवडाले बताए। 'कम्तीमा ओली जेठ २ मा फर्किन तयार भएको अवस्थामा विश्वासको मत  दिन समस्या हुने थिएन', खतिवडाले भने, 'शुक्रबार मिल्न लागेको वार्ता पनि ओली पछि नहट्ने अडानका कारण भाँडियो। त्यसैले अब हामीसँग सामूहिक राजीनामाबाहेक अर्को विकल्प भएन।'



ओलीले पछि नहट्ने अडान लिएपछि आज पनि माधव पक्षीय प्रतिनिधिसभा सदस्यहरुको बैठक बसेको थियो। उक्त बैठकबाट माधव पक्षीय नेताहरुले सांसद पद नै त्याग्ने निर्णय लिएका हुन्। माधव पक्षले कति जना सांसदबाट राजीनामा आउने भन्‍ने तय गरिसकेका छैनन्। 

खतिवडाले भने आइतवार बिहान स्थायी कमिटीका नेताहरुको बैठक बसेपछि राजीनामा दिने संख्या तय हुने बताएका छन्। उनका अनुसार आइतवार दिउँसो २ बजेपछि संसद सचिवालयमा सामूहिक राजीनामा पठाइनेछ।  

संसद सचिवालयमा राजीनामा बुझाइसकेपछि उनीहरुले एमाले संसदीय दलका नेता ओलीलाई सामूहिक राजीनामा पत्र दिने भएका छन्। उनीहरुले राजीनामा दिनुपर्ने कारणसहित ओलीलाई पत्र बुझाउने भएका छन्। एमालेमा पार्टी अध्यक्ष र दलका नेता एकैजना भएकाले ओलीलाई नै उनीहरुले पत्र बुझाउने भएका छन्।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै साविकको एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो। यस्तोमा ओलीले नेपाल पक्षलाई सहभागी नै नगराइ फागुन २८ गते विभिन्‍न निर्णय गरेका थिए।

फागुन २८ को केन्द्रीय कमिटी बैठकबाट ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित नेताहरुको पद खोसिदिएका थिए। त्यसैगरी माओवादीबाट आएका नेताहरुलाई जिम्मेवारी दिएका थिए। यस्तोमा नेपाल पक्षले फागुन २८ र चैत ७ को निर्णय खारेज गरेर २०७५ जेठ २ मा फर्किनुपर्ने अडान राख्दै आएको छ। जुन कुरामा ओली तयार नभएपछि अब एमाले औपचारिक रुपमा विभाजनतर्फ गएको हो। 

  • प्रकाशित मिति : वैशाख २५, २०७८ शनिबार २२:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया