मूल्य वृद्धिका लागि सिटामोलको उत्पादन रोकियो, बजारमा कृतिम अभाव सिर्जना
१४ वर्षदेखि एउटै मूल्यमा बिक्री गरियाे, अब घाटाको व्यापार गर्न सकिँदैनः अध्यक्ष क्षेत्री

फार्मेसीमा सिटामोल औषाधी पाउन छाडेको एक महिनाभन्दा बढी भयो । पायो भने पनि मागेजति वा चाहेजति पाइँदैन । एकातिर कोरोना महामारीका कारण सिटामोलकाे माग बढिरहेको छ भने अर्कोतिर बजारमा औषधी नै पाइन छाडेको छ । त्यसको कारण हो, भारतबाट आयात हुने औषधीमा रोक तथा नेपाली उद्योगमा उत्पादन बन्द । 

४५ प्रतिशत बजार धानेको नेपाली औषधी उत्पादकले यतिबेला मागअनुसार सिटामोल औषधी बनाउन सकेका छैनन् । कोरोना महामारीको कारण देखाउँदै भारतले भने सिटामोल निर्यातमा रोक लगाएको छ । 

नेपाली औषधी उत्पादक उद्योगले पनि घाटामा गइरहेको भन्दै उत्पादनमा कमी गर्दै आएका छन् । २०६४ सालमा सरकारले सिटामोलको मूल्य  प्रति गाेटा एक रुपैयाँ तोकेको थियो । अहिले पनि त्यही मूल्य नै  राखिएकाे छ ।

सरकारले मूल्य तोक्दा कच्चा पदार्थको मूल्य प्रतिकिलो चार सय रुपैयाँ थियो । अहिले बढेर एक हजार पुगेको छ । उत्पादन लागत बढ्दै गएपनि सरकारले मुल्य समायोजना नगर्दा औषधी उत्पादकहरू  घाटाको व्यापार गर्दै आएका छन् । 

मूल्य बढाउन उत्पादन रोकियोः 

नेपाल फार्मेसी संघका अध्यक्ष अमृत खनालले यस्तो महामारीको समयमा मौका छोपेर उत्पादन रोकिँदा बिरामी मर्का परेको भन्दै आफ्नो फाइदाका लागि यस्तो गर्नु गलत रहेको बताए । 



‘यस्तो महामारीको बेला यदि अभाव देखाउन सकियो भने आफ्नो माग पुरा हुन्छ भन्दै उनीहरूले उत्पादन रोकेका हुन्,’ अध्यक्ष खनालले भने, ‘मूल्य बढाउनु त ठीक कुरा हो । तर, यस्तो महामारीको बेलामा सुहाउँदो भएन ।’

अझै दुई-तीन महिनालाई धान्ने कच्चा पदार्थ उनीहरूसँग रहेको भन्दै सरकारलाई अप्ठ्यारो परेकै बेला मूल्य बढाउने बहाना खोज्नु गलत भएको जनाए ।  



घाटाको उत्पादन गर्न सकिँदैनः

नेपाल औषधी उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीका अनुसार भने उत्पादन पूर्ण रूपमा ठप्प भएको छैन । उनले पहिला नै ल्याएर राखेको कच्चा पदार्थको आधारमा केही उद्योगले उत्पादन गर्दै आएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । मूल्य समायोजन गर्न पटक-पटक माग गर्दै आएपनि सरकारले सुनुवाइ नगरेको उनको भनाइ छ ।

यससम्बन्धमा क्षेत्री भन्छन्, ‘हामीले अहिले उत्पादन नै रोकेका त छैनौँ । तर, नयाँ कच्चा पदार्थ लिएर बनाउन सकिने अवस्था भने छैन । अहिले केही उद्योगले पुरानै कच्चा पदार्थबाट उत्पादन गरिरहेका छन् ।’

नेपालमा अहिले ९-१० वटा कम्पनीले सिटामोल उत्पादन गर्दै आएका छन् । जसले नेपाली बजारको ४५ प्रतिशत माग धान्दै आएको छ । महामारीको समयमा उत्पादन पूर्ण रूपमा नरोकेको उनी बताउँछन् । 

क्षेत्रीका अनुसार प्रति गाेटा सिटामोलको लागत नै डेढ रूपैयाँ पर्छ । तर, एक रूपैयाँमा बेच्दा उत्पादकले घाटा व्यहोर्नु परेको छ ।  मूल्य समायोजन हुन सकेन भने नयाँ मूल्यअनुसार कच्चा पदार्थ किनेर सिटामोल बनाउन सक्ने अवस्था रहेको छैन । 

अहिलेलाई दुई तीन हप्तालाई पुग्ने सिटामोल बनाएर बजारमा पठाइएको भन्दै अब पुरानै मूल्यमा सिटामोल बेच्न सक्ने अवस्थामा उत्पादक नरहेको श्रेष्ठले जानकारी दिए ।

औषधी उत्पादक संघले मूल्य समायोजनका लागि औषधी व्यवस्था विभागलाई पटक-पटक पत्र पठाए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ‘सरकारसँग पटक पटक मूल्य समायोजनको माग गर्दै आएका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन’, उनी भन्छन्,‘मूल्य समायोजन गर्न सरकार पनि तयार छ । तर किन ढिलाइ गरिरहेको छ, त्यो हाम्रो जानकारीमा छैन ।’

उत्पादक संघका अध्यक्ष क्षेत्रीले भने मानवीय नाताको दृष्टिकोणले भएपनि घाटा खाएर पनि उत्पादन भने नरोकिएको बताए । ‘पहिलाको तुलनामा उत्पादन कम भएको छ । यही बेला माग फेरि २-३ गुणा बढेको छ । पुरानै कच्चापदार्थबाटै उत्पादन गरिरहेका छौँ । नयाँ ल्याएर उत्पादन गरेर बजार पठाउन सकिने अवस्था भने छैन’,अध्यक्ष क्षेत्रीले भने ।   

औषधी लिमिटेडले दैनिक ३ लाख ट्याबलेट बनाउँदै

सिटामोल उत्पादन गर्ने सरकारी निकाय नेपाल औषधी लिमिटेडले दैनिक ३ लाख ट्याबलेट सिटामोल उत्पादन गर्दै आएको छ । लिमिटेडले घाटामा भए पनि उत्पादन भने रोकेको छैन । 

लिमिटेडका सूचना अधिकारी टिकाराम अर्यालले  उत्पादन नरोकिएको बारेमा भन्छन्,‘विश्वबजारमा अहिले कच्चा पदार्थको मूल्य चार गुणा भन्दा बढीले बढेको छ । यो क्रम रोकिएको छैन। तर पनि हामीले आफ्नो उत्पादन भने रोकेका छैनौँ ।’

अर्यालका अनुसार लिमिटेडले उत्पादन गर्ने सिटामोलले नेपाली बजारको लगभग १० प्रतिशत हिस्सा ओगटेको छ । अहिले स्टकमा रहेको कच्चापदार्थबाट उत्पादन जारी रहेको र थप कच्चा पदार्थ भारतबाट ल्याउन पहल गरिरहेको छ ।

घाटा छ भनेर उत्पादन नै रोक्न नमिल्ने बारेमा उनी भन्छन्, ‘निजी कम्पनीले अहिले उत्पादन नै बन्द गरेका छन् । त्यसैले हाम्रोमा मात्र  माग बढेको छ । हामीले घाटा भए पनि उत्पादनलाई भने निरन्तरता दिइरहेका छौँ । उत्पादन नै रोक्न मिल्दैन ।’
 
औषधी व्यवस्था विभागले भने उनीहरूको माग जायज रहेको भन्दै त्यसप्रति सकारात्मक रहेको बताएको छ । विभागका महानिर्देशक भरत भट्टराईले मूल्य समायोजन गर्ने विषयमा विभागले तयारी गरिरहेको जनाए । उनीहरूको माग सम्बोधनका विषयमा विभाग सकारात्मक रहेको भन्दै विभागले आन्तरिक तयारी गरिरहेको जानकारी दिए ।
 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १४:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया