Sun, 15 Sep, 2019


सन्दर्भ: संविधान दिवस
‘हाम्रो संविधान विश्वको नमुना संविधान हो’
फरकधार / असोज ३, २०७५

काठमाडौं– ३ असोज ०७२ । नेपालको इतिहासमै पहिलोपटक जनताले जनताका लागि संविधान पाएको ऐतिहासिक दिन । यसैबीचमा संविधानको कार्यान्वयनस्वरूप विभिन्न तहका निर्वाचन भइसकेका छन् । 



त्यस्तै, ‘समृद्ध नेपाल सुखी नेपाली’को नारासहित जनताको भावना कदर गर्ने लक्ष्यसहित बनेको सरकारको  सात महिना पनि आज पूरा भएको छ । जनताले पाएको संविधानको विषयमा अहिले पनि विभिन्न विविध किसिमका बहस तथा असन्तुष्टि रहेको कटुयथार्थ हो । मधेसवादी दल अझै संविधानसँग सन्तुष्ट हुन सकेका छैनन् ।

दुईपटक संविधानसभाको चुनाव गर्दै पाँच वर्ष आठ महिना लागेर बनेको हो ‘नेपालको संविधान’ । यो पाँच वर्ष आठ महिनाको समयाअवधिमा संविधानसभाको पूर्ण नेतृत्व गर्ने मौका पाए, तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले ।

उनै नेम्वाङ हाम्रो देशले पाएको संविधान विश्वमा नै नमुना भएको दाबी गर्छन् । संविधान दिवसको अवसर पारेर फरक धारकर्मी रूपक चौलागाईंले संविधानसभा र संविधानका विषयमा नेम्वाङसँग कुराकानी गरेका छन् । नेम्वाङले आफ्नो अनुभव यसरी सुनाए :

नेपालको संवैधानिक इतिहासमा सबैजसो संविधानको स्रोत शासक थियो । तर, पछिल्लो संविधानको स्रोत भने जनता आफैं हुन् । सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधिमूलक संस्थाको रूपमा संविधासभाले पहिलोपटक जनताले जनताका लागि संविधान बनाएका हौं । त्यसैले यो ऐतिहासिक संविधान बनेको छ । यो संविधानले संंघीय गणतान्त्रिक लोकतन्त्र, धर्मनिरपेक्षता र समावेशिताका आधारमा संविधान प्रस्तुत गरेको छ । 

अब कुनै पनि क्रान्ति र आन्दोलनको आवश्यकता रहेन । यही संविधानका आधारमा जोसुकैले पनि आफ्नो चाहनाअनुरूपको परिवर्तन आत्मसात् गर्न सक्छन् । आवश्यकता भनेको जनताको विश्वास जित्नु हो । संसारभरिको प्रजातान्त्रिक विधि भनेको पनि यही हो । 

यही कुरालाई आत्मसात् गर्दै हामीले ०७२ असोज ०३ मा संविधान जारी गरेका छौँ ।संविधान जारी गर्दा स्वाभाविक रूपमा धेरै प्रकारका अप्ठ्यारा आए । पहिलो संविधानसभा दुई वर्षबाट सुरुवात हुँदै म्याद थपेर चार वर्ष पुर्याउँदा पनि संविधान जारी भएन । जेठ २ गते दलहरूबीच सहमति कायम भए पनि त्यो सहमति दुई दिन टिक्न सकेन । जेठ १४ गते त्यो संविधानसभा भत्कियो । 

संविधानसभा अब फेरि कहिल्यै आउँदैन, संविधानसभाबाट अब कहिल्यै संविधान नबन्ने भयो भन्ने स्थिति सिर्जना भयो । त्यतिवेला मैले ‘अब देश अँध्यारो सुरुङमा प्रवेश गर्यो’ भनेर पनि भनेको थिएँ । तर, दलहरू र हामी सबैको प्रयासले, नेपाली जनताको अथक प्रयासले फेरि दोस्रो संविधानसभाको चुनाव भयो । पहिलो संविधानसभाको राम्रा ऐतिहासिक निर्णयलाई आत्मसात् गर्दै दोस्रो संविधानसभाले संविधान निर्माणको काम सम्पन्न गर्यो । 

दुई–दुईपटक संविधानसभाको निर्वाचन भएको उदाहरण नेपालमा मात्रै हो । यो विशेष खालको अवस्था हो । दुईपटक संविधानसभा संसारमा नै कहीँ भएको छैन । यो विशेषताका साथ हामीले संविधान निर्माणको काम ५ वर्ष ८ महिना लगाएर सम्पन्न गर्यौं । पहिलो संविधानसभाको ४ वर्ष र दोस्रो संविधान सभाको १ वर्ष ८ महिना जोड्दा ५ वर्ष ८ महिना लगाएर संविधान निर्माणको काम सम्पन्न गर्यौं । 

यो संविधानसभा सबै अर्थमा समावेशी थियो । राजनीतिक रूपमा पञ्चायतकालीन शक्तिदेखि पञ्चायतविरुद्ध निरन्तर आन्दोलन गरेका शक्ति, सशक्त क्रान्तिबाहेक अरू प्रक्रियाबाट परिवर्तन हुँदैन भन्ने शक्ति, एक–एकवटा सिट भएका विभिन्न दलसम्म समावेश थिए । संविधानसभामा ३१ वटा राजनीतिक दलको उपस्थिति थियो । त्यसकारण पनि यो संविधानसभा समावेशी थियो । 

छिमेकी भारतमा एउटा दलको प्रभुत्व भएको संविधानसभा रहेको थियो । तर, हाम्रोमा भने ३१ वटा राजनीतिक दलको उपस्थितिले सबै प्रकारले समावेशी संविधान रहेको थियो । जहाँ, ३३ प्रतिशत महिलाको उपस्थिति, मुस्लिम, दलित, जनजाति सबै प्रकारले समावेशी संविधानसभा थियो । 

संविधानसभाले सहभागितामूलक ढंगले शून्यबाट काम सुरु गरेर, दुई–दुईपटक जनताको बीचमा गएर, लाखौँ सुझाब ग्रहण गरेर, संघीय गणतान्त्रिक लोकतन्त्र, धर्म निरपेक्षता र समावेशी आधारमा विविधताको बीचमा समुधुर एकताका आधारमा संविधान निर्माण भयो । त्यसैले यो सबै प्रकारले समावेशी संविधान हो । 

विश्वकै सन्दर्भमा साँच्चै मौलिक अधिकारले सम्पन्न संविधान हामीले निर्माण गरेका छौँ । यो संविधान २०७२ असोज ३ गते जारी भएपश्चात् ७० वर्षदेखिको जनताको चाहना र भावनाले मूर्तता प्राप्त गरेको छ । ००७ सालदेखि सुरु भएको यो अभियान, त्यसबीचमा संविधानसभा गठन गर्न नै सकिएन । ०६२÷०६३ को आन्दोलनले उक्त आधार तय गर्यो र संविधानसभा गठन भयो । 

अघि भनेजस्तै, पटक–पटक संविधानसभा भत्किने अवस्था उत्पन्न भयो । पहिलो संविधानसभा भत्कियो । तर, दोस्रो संविधानसभाबाट भने हामी संविधान बनाउने काममा सफल भयौँ । पहिलोपटक सहमतिबाट निष्कर्षमा पुग्ने प्रयास गर्यौं । दोस्रोपटक हामी जनतामा जाँदा जनतालाई दिएको प्रतिबद्धताअनुसार र सबै राजनीतिक दलको घोषणापत्रमा उल्लेख भएअनुसार सहमतिबाट प्रयार गर्ने, भएन भने प्रक्रियाबाट संविधान बनाउने घोषणाअनुसार त्यही आधारमा उभिएर संविधानसभालाई अघि बढाउने काम भयो । 

अन्ततः प्रक्रियाबाट ९० प्रतिशत सभासद्को हस्ताक्षरसहित ०७२ असोज ३ गते संविधान जारी गर्न हामी सफल भयौँ । जनताको ७० वर्षअघिदेखिको भावना र चाहनाले मूर्तता पायो । ०७२ असोज ३ को ऐतिहासिक क्षणको त्यो दिन आज तीन वर्ष पूरा भएको अवस्था छ । 

यसबीचमा केही महत्त्वपूर्ण ऐतिहासिक काम भएका छन् । हाम्रो छिमेकी महान् दक्षिण भारतले हाम्रो संविधानलाई स्वीकार गरेन । उनीहरूलाई यो ठाउँमा आउन १० वर्ष लाग्यो । अहिलेसम्म भारतमा १ सय २२ पटकभन्दा बढी संविधान संशोधन भइसकेको छ । तर, हामी भर्खर तीन वर्ष पूरा गर्दै छौँ । यसबीचमा एकपटक मात्र संविधान संशोधन भएको छ । यो तीन वर्षको अवधिमा सिंगो देश संविधान स्वीकार गर्ने अवस्थामा पुगेको छ । विश्वास र अविश्वासका घटनाक्रम हुँदै भर्खरै केही समयअघि स्थानीय, प्रदेश र केन्द्रीय संसद् गरी तीनै तहको निर्वाचन भयो । संविधानसभाको प्रक्रिया बहिस्कार गरेका साथीहरू यो निर्वाचनमा सहभागी हुन आउनुभएको छ । निर्वाचनमार्फत केन्द्रीय सरकार गठन हुँदा बहिस्कार गरेका कतिपय साथीहरू विभिन्न सरकारमा नै सहभागी हुनुभएको छ भने कतिपय साथीहरू सरकारभन्दा बाहिर बसेरै सरकारलाई समर्थन गरिरहनुभएको छ । अझ, प्रदेश २ मा त उहाँहरूकै सरकार छ । 

यो निर्वाचनपश्चात्, २० फागुनमा अघिल्लो निर्वाचन बहिस्कार गरेका साथीहरूको बीचबाट शीर्ष नेता तथा मेरा अनन्य मित्र महन्थ ठाकुरले आफूले शपथ ग्रहण गर्दै ज्येष्ठ सदस्यको हैसियतमा हामी सबैलाई संविधानबमोजिम शपथ खुवाउनुभएको छ । अर्थात्, सिंगो देशले संविधानलाई स्वीकार गरेको छ । यथार्थ कुरा के हो भने, उहाँहरूले संविधानलाई स्वीकार गर्दै आफ्नो असन्तुष्टि यथावत् कायम भएको कुरा पनि बताउनुभएको छ । यहाँसम्म आउनका लागि हामी सबैले धेरै मिहिनेत र प्रयास गर्यौं र देशलाई यो ठाउँसम्म ल्यायौँ ।

अब, संविधानकै आधारमा उभिएर देश र जनताको बीचमा, आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनलगायतका काम गर्दै अघि बढ्नुपर्छ । यो हामी सबैका लागि सुःखद कुरा हो । 

संविधान निर्माणको यो दौरानमा हामीले धेरै तिता–मीठा घटना भोगेका छौँ । उकाली–ओराली गर्दै, विभिन्न घुम्ती पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ । यस दौरान कहिले कुर्सी भाँचिएका छन्, कहिले ब्रिफकेस फुटेका छन् । कहिले सोफासेट च्यातिएका छन्, माइकहरू भाँचिएका छन् । 
यिनै सन्दर्भमा रहेर कुरा गर्दा मलाई सधैँजसो आज पनि एक दिनको स्मरण हुन्छ । संविधानसभा भवनभित्र मर्यादापालक रहेका वेला एकजना माननीयज्यू कुर्सी नाघ्दै अध्यक्ष (म) बसिरहेको कुर्सीअगाडि गलबन्दी हल्लाउँदै आइपुग्नुभएको थियो । मर्यादापालकले समातेर उहाँलाई पुनः तलै फर्काइदिएका थिए । 
मलाई भोलिपल्ट पत्रकार साथीहरूले सोध्नुभयो– हिजो संसद्मा यस्तो के भएको हो ? मैलै ठट्टा गर्दै हाँसेर भनेँ– ‘उहाँ खादा ओडाउन आउनुभएको रहेछ । मर्यादापालकले समातेर फर्काइदिए ।’

यस्ता घटना हुँदै हामी संविधान निर्माणको बिन्दुमा आइपुगेका हौँ । संक्षेपमा मैले भन्न खोजेको कुरा के हो भने थुप्रै विविधता र थुुप्रै फरक–फरक दृष्टिकोणका बीचमा सम्झौताको दस्ताबेजको रूपमा हामीले संविधान निर्माण गरेका छौँ । 

तर, वेला–वेलामा असन्तुष्टि र असमझदारीका कुरा आउँछन् । यो कुनै आश्चर्यको कुरा नै होइन । यो त विविधताको बीचमा बनेको समझदारीको दस्ताबेज हो । यहाँ विविधता छन् ।

ठूला पार्टीको नै कुरा गर्ने हो भने, संसदीय परिपाटीको कुरा गर्ने नेपाली कांग्रेसले सम्झौताको कुरा गर्यो र त आज संविधान बनाउन भूमिका निर्वाह गर्यो । 
अहिले हाम्रो संसदीय प्रणाली कस्तो छ ? प्रधानमन्त्रीविरुद्ध दुई वर्ष अविश्वासको प्रस्ताव आउन पाउँदैन । प्रधानमन्त्रीले संसद् विघटन गरेर अब जनताको बीचमा जान पाउँदैन । यसलाई हामी सुधारिएको संसद् भन्छौँ । स्वयं नेपाली कांग्रेसले यसलाई स्वीकार गर्यो । 

हिजो नेकपा माओवादी केन्द्रले त प्र्रत्यक्ष निर्वाचित राष्ट्रपति भनेको थियो । तर, हामीले सेरेमोनियल राष्ट्रपतिको व्यवस्था गर्यौं । उसले त्यसलाई मान्यो, स्वीकार गर्यो ।  त्यस्तै, हिजोको नेकपा एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्थ्यो, जसका लागि हामी गाउँ–गाउँ घुमेका हौँ । तर, नेकपा एमालेले त्यसमा सम्झौता गर्यो र संसद्बाट चुनिएको प्रधानमन्त्री स्वीकार गर्यो । यी सबै भूमिका बाँधेर मैले भन्न खोजेको कुरा के हो भने सबै राजनीतिक दल र माननीय सदस्यहरूले सम्झौता गरे, जसका कारण संविधान बन्यो । देशमा यति धेरै दल छन्, विविधता छ, सम्झौता नगरी संविधान बन्न सक्छ ? सम्झौता नगर्ने हो भने त कि संविधान नै बन्दैन कि त ३५/४० वटा संविधान बनाउन तयार हुनुपर्यो । संविधान बनाउने प्रक्रियामा धेरै ठाउँमा आन्दोलन भए । थरुहट आन्दोलनदेखि धेरै आन्दोन भए । 

अझ, हाम्रो पूर्वतिर त तिमीहरू कसको अनुमति लिएर आयौ, खोइ, भिसा देखाऊ भनेर केटाकेटीले बाटो छेकेको कुरा हाम्रा सभासद्ले सुनाउँथे । यो बीचमा लाखौँ संस्थागत र व्यक्तिगत सुझाब ग्रहण गरेर, एकपटक मात्र नभई धेरैपटक सुझाब लिएर जनताले जनताको लागि संविधान बनाउने काम सम्पन्न भएको छ । त्यसकारण, यो बिन्दुमा हामी आइपुग्न सम्भव भएको हो । साँच्चै भन्ने हो भने जनताका अधिकार सुनिश्चित गर्न हामी सफल भएका छौँ । अब, जनताहरू सबल भएका छन् । 

शान्ति प्रक्रियाका केही काम बाँकी छन् । त्यसलाई टुंगोेमा पुर्याउने आधार हामीले तय गरेका छौँ । विश्वमा नै हाम्रो संविधान नमुना हो, यसलाई मोडलको रूपमा विश्वले नै लिनुपर्छ । हामीले ऐतिहासिक र राम्रो काम गरेका छौँ । अब, हामीले यसलाई सबल र बलियो बनाउँदै अघि लैजानुपर्छ । संविधान दिवस मनाइरहेको अवस्थामा हाम्रा कमी–कमजोरी सच्याँउदै अगाडि बढ्छाैँ र सम्पूर्ण दल एकै ठाउँमा उभिन्छौँ । तराई, पहाड र हिमालका र सबै भाषाका जनता एक भएर अघि बढ्छौँ, हामी एक हुनुको विकल्प अब छैन । त्यसका लागि आधार तय भएको छ । यही आधारमा उभिएर हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ व्यवहारमा आत्मसात् गर्न सक्छौँ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्