किशोरीलाई घर पुर्याइदिन्छु भनेर युवकले अन्तै लैजान खोजेपछि...

बैतडीमा मोटरसाइकलबाट हामफालेर एक किशोरी घाइते भएकी छिन् । जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ वर्षीय गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् ।

सोमबार बिहान गौराका लागि लुगा कपडा र शृंगारका सामान किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किन लाग्दा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लैजान खोजेपछि उनले मोटरसाइकलबाट हामफालेको उनका दाजु जनकराज भट्टले जानकारी दिए ।
  
आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य बहिनीहरुसँग खोड्पे पुगेकी गोदावरी बुवाभन्दा केही ढिलो घर फर्किंदा हरिशले आफैँ लिफ्ट दिन्छु भनेर मोटरसाइकल चढाएको जनकले बताए । ‘बहिनीले बीचमा बुवा देखेपछि म उत्रिन्छु भनेकी रहिछन् । तर, उसले विजयपुरसम्म पुर्याइदिन्छु भनेछ । विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लैजान थालेपछि बहिनी हाम फालिछन् ।’

गोदावरी मोटरसाइकलबाट हामफालेपछि हरिश एक्लै भागेका थिए । हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लैजाने प्रयास गरेपछि गोदावरी हामफालेको पारिवारिक स्रोतले जनाएको छ । 

घाइते गोदावरीको धनगढीको मायामेट्रो हस्पिटलमा उपचार भइरहेको छ । उनको आइसियूमा राखेर उपचार भइरहेको उनका दाजु जनकराज भट्टले बताए । उनले भने, ‘बाहिरी देखिने चोट कम भए पनि बहिनीको भित्री अंगमा चोट छ । बेहोस अवस्थामा छ ।’

पीडित परिवारले घटनाको छानबिनका लागि खोड्पे प्रहरीचौकीमा निवेदन दिएका छन् । आफ्नो बहिनीले न्याय पाउनुपर्ने उनका दाजु जनकले बताए ।
 
प्रहरीले मोटरसाइकल चालक हरिश महरा र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

मोटरसाइकलबाट हामफालेर एकजना किशोरी घाइते भएको भन्ने जानकारी मात्रै आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार २१:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया