संविधान दिवसमा घोषणा गरिने पदक लिनेलाई सकस, पदक अस्वीकार गर्ने बढ्दै

संविधान जारी भएको दिन असोज ३ गते सरकारले प्रत्येक वर्ष विभिन्न व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकद्वारा सम्मान गर्ने घोषणा गर्दै आएको छ। आज पनि सरकारले ९०३ जना व्यक्तिहरूलाई विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा सम्मान गर्ने घोषणा गरेको छ । 

सरकारले नाम सार्वजनिक गरेसँगै ती मानपदवी, अलङ्कार र पदक अस्वीकार गर्नेक्रम पनि सुरु भएको छ । 

सरकारले मानपदवी, अलङ्कार र पदकको घोषणा गर्दा पारदर्शिता नआउँदा, राम्राभन्दा ‘हाम्रा’ भन्नेहरूलाई बढी समेट्दा पछिल्ला वर्षहरूमा विभूषण अस्वीकार गर्ने क्रम बढेको छ । 

‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद,’ इकाजग डटकमका प्रधान सम्पादक हरिबहादुर थापाले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैलै अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपाली भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’ 

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार-विश्लेषण-पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइएको बताएका छन् । 

‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । केही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ थापाले भनेका छन् ।
 
नागरिक दैनिकका कार्टुनिस्ट रविन सायमीले पनि सरकारले आज दिने भनि घोषणा गरेको पदक अस्वीकार गर्ने बताएका छन् । सामाजिक सञ्जालमा ट्विटरमा उनले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।’ 



नेपाल समयमा प्रधान सम्पादक नारायण अमृतले पनि आज सरकारले दिने भनी घोषणा गरेको विभूषण अस्वीकार गर्ने निर्णय सार्वजनिक गरेका छन् । 

अमृतले ट्विटरमा लेखेका छन्,‘यसपटकको लाममा मेरो पनि नाम देखेँ । विना खबर, विना प्रक्रिया र विना मापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दपर्ण देखिन्छ । कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राख्दिम न’ भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन समेत गर्छ भन्ने मर्म कहिले बुझिएला? 



‘त्यसैले, त्यो लामबाट मेरो नाम झिकियोस् । यसरी दिने पुरस्कारमा लागि म योग्य छैन भन्दै म यो भागबण्डा अस्वीकार गर्छु’, अमृतले थपेका छन् ।

अमृतले संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति आफू सधैँ असहमत हुँदै आइरहेको समेत स्पष्ट पारेका छन् । 

राजाको पालामा वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि ‘गोर्खा दक्षिण बाहु’ (गोदवा) अस्वीकार गरेका थिए ।

सरकारले बिना मापदण्ड आफ्ना नेता तथा कार्यकतालाई वा चाकरी गर्नेलाई मानपद्वी दिंदा त्यहाँ मिसिने केही ‘प्रोफेसनल’ व्यक्तिलाई अप्ठेरो पर्ने गरेको यस्ता अस्विकारले छर्लङ्ग पारेको छ । यसले मानपदवी, अलङ्कार र पदकप्रतिको सम्मान घट्दै गएको छ । 


 


  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १२:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया