एसिडपीडित खातुनलाई वीरगन्जका मेयरको आर्थिक सहयोग

महानगरपालिकाका मेयर विजयकुमार सरावगीले एसिडपीडित मुस्कान खातुनलाई दुई लाख रुपैयाँ सहयोग गरेका छन् । एसिडपीडित खातुनको उपचारका लागि मेयर सरावगीले दुई लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । 

एसिड प्रहारले घाँटी ,पेट र छातीमा भएको घाउको तत्कालै शल्यक्रिया गर्नुपर्नेछ । उनको पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले खातुन तत्कालै शल्यक्रियाबाट वञ्चित भएकी थिइन् । 

उपचारमा ३ लाख भन्दा बढि खर्च लाग्ने भएको छ । तर, मुस्कानसँग त्यति रकम नभएको खबर पाएपछि मेयर सरावगीले उनलाई दुइ लाख रुपैयाँ सहयोग गरेका हुन् । 

आफ्नो तलब भत्ताको रकम जम्मा गर्दै आएको मेयर कल्याणकारी कोषबाट तत्कालका लागि दुई लाख रुपैयाँ मुस्कानको उपचारका लागि सहयोग गरेको सरावगीले बताए । 

सरावगीले एसिडले मुस्कानको कानको पनि सर्जरी गर्नुपर्ने र त्यसका लागि १२ लाख रुपैयाँ जति खर्च लाग्ने कुरा गरेका कारणले आफूले मुख्यमन्त्रीलाई पनि सहयोग गर्न भनेको बताए । 

मुस्कानले अप्रेसनका लागि पैसाको जोहो नहुँदा परिवार नै तनावमा रहेको भन्दै सरावगीबाट दुई लाख रुपैयाँ सहयोग पाएपछि खुसी व्यक्त गरेकी छिन् । अब आफ्नो उपचार हुने आशा पलाएको उनले बताइन् ।



०७६ भदौ २० गते विद्यालय जाने क्रममा वीरगन्ज ४ गणेशमान चोकमा मजिद मिया र सम्साद मियाले उनको अनुहार र शरीरमा एसिड प्रहार गरेर घाइते बनाएका थिए । घटनालगत्तै पक्राउ परेका मियाविरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई पर्सा जिल्ला अदालतको आदेशले तत्काल पुर्पक्षको लागि बालसुधारगृह पठाइएको थियो ।

कोभिड–१९ को पहिलो लहरको प्रकोपका कारण ०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधारगृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो । तर, फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए । असोज १३ गते युवकलाई वीरगन्जबाट पर्सा प्रहरीले पुनः पक्राउ गरेको छ ।



  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १७:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया