कपिलवस्तु प्रहरीले चार महिनामै पक्राउ गर्याे ४८६ फरार अभियुक्त

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान, लागूऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा फरार अभियुक्त पक्राउ गर्न कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले फ्युगिटी एरेस्ट प्रोग्राम (फ्याप) कार्यक्रम नै सञ्चालन गरेका छन् । 

साउनयताकाे चार महिनामा ४८६ जना फरार अभियुक्त पक्राउ परेका प्रहरी तथ्यांक छ ।  साउनमा २८९, भदौमा १२७, असोज ४८ र कात्तिकमा २२ जना पक्राउ परेका हुन् । गत आवको पहिलाे चार महिनामा ८१ जना फरार अभियुक्त पक्राउ परेका थिए ।  

फरार रहेका २० वर्षपछि पक्राउ पर्नेमा ३५ जना, १५ वर्षपछि पक्राउ पर्नेमा ३६ जना, १० वर्षपछि पक्राउ पर्नेमा १४० जना र पाँच वर्षपछि पक्राउ पर्नेमा १५८ जना छन् । त्यस्तै, पाँच वर्षभन्दा कम अवधिदेखि फरार रहेका ११७ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा हत्या गरी अदालतबाट २० जन्मकैद सजाय पाएर फरार रहेका समेत छन् ।

‘अपराध गरेर समाजलाई दूषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन । अपराध गर्ने एक दिन अवश्य कानुनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौं,’ जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले भने । 

कपिलवस्तु प्रहरीले १ कात्तिकमा मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट लागुऔषध ब्राउन सुगर ९२ ग्राम ४२ मिलीग्राम बरामद गरेको थियाे । कारोबारी विजय खत्रीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

कपिलवस्तु प्रहरीले मुद्दा फर्स्यौटलाई पनि प्राथमिकता दिएको छ । असोजमा ४४ मा २१ र कात्तिकमा ६६ मा ३३ मुद्दा फर्स्यौट गरेको छ । 



चालु आवको चार महिनामा पाँच करोड ३१ लाख ४० हजार ७७२ रुपैयाँ राजश्व संकलन भएकाे कपिलवस्तु प्रहरीले जानकार दिएकाे छ । यो गत वर्षको चालु चार महिनामा संकलित राजश्वभन्दा अढाई करोड बढी हो ।
 



  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १०:८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया