महामन्त्रीमा पराजितपछि रेखाको प्रतिक्रिया : चार वर्षअघि मात्रै प्रवेश गरेर यति मत पाउँदा प्रसन्न छु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिला महामन्त्रीमा पराजित हुँदा पनि रेखा थापाले खुसी व्यक्त गरेकी छन् । महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार वर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी व्यक्त गरेकी हुन् ।

‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ उनले सञ्चारकर्मीसँग भनिन्, ‘म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ तै पनि मलाई उल्लेख्य मत आएको देख्दा व्यक्तिगत रूपमा म प्रसन्न छु ।’ 

उनले राप्रपा एकता महाधिवेशनमा आफूलाई मत दिने सबैलाई धन्यवादसमेत दिएकी छन् । 

शाहीले २ हजार ८ मत ल्याउँदा थापा भने ३ सय ६८ मतले पछि पर्दै १ हजार ६ सय ४० मत सीमित भएकी थिइन् । अध्यक्षको अर्का प्रत्यासी कमल थापा पराजित भएको राप्रपा महाधिवेशनमा रेखा विजयी लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवारी थिइन् ।

चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन् ।

‘चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीजीलाई मेरोतर्फबाट विजयी हुनु भएको बधाई भन्न चाहन्छु,’ थापाले आगामी योजनाबारे भनिन्, ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, अब पार्टीलाई झन् सशक्त बनाउने मेरो प्रयास हुनेछ ।’  






  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया