विमलले जारी लिगका बाँकी खेल नखेल्ने

काठमाडाैं- नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् ।

क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए । जारी लिगका दुई खेल सकिँदासम्म विमलले गोल गर्न भने सकेका छैनन् । 

यसै सिजन ‘ए’ डिभिजनमा उक्लिएको च्यासल युथ क्लबका लागि विमलको अनुस्थितिले केही समस्या पर्ने देखिन्छ । लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार, एक बराबरी र एक अंकसहित च्यासल लिगको नवौँ स्थानमा छ । पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग १–० ले पराजित भएको थियो । 

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा यसै वर्षदेखि खेलेका हुन् । विमललाई लिन अन्य क्लबहरूले प्रयास गरे पनि अन्तिममा च्यासल गएका थिए । चौध वर्षको उमेरमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान पाएपछि खेल्दै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् । उनले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए ।

एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ फेस्टिभलमा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार ११:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया