नागरिक अगुवाले भने - व्यक्ति हत्याको धम्की दिने मन्त्री यादवलाई तत्काल पदमुक्त गर

नागरिक अगुवाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेका छन् । सीके राउतलाई लक्षित गर्दै अर्को गौर नरसंहार गराउने धम्की दिएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग बढेको हो ।

डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्ति हत्याको धम्की दिने मन्त्री यादवलाई तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।

बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल भएको उनीहरू तर्क छ । मन्त्री यादवको अभिव्यक्तिले गौर हत्याकाण्डमा उनको दलको सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको भन्दै उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

'मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ । मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैँ लिनु अति आवश्यक छ' उनीहरूले भनेका छन् ।


नागरिक अपील

हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्तिहत्याको धम्की दिने संघीय मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर ।



२०७८ माघ  ७

संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले यही २०७८ माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति  दिएकोप्रति हामी गम्भीरआपत्ति व्यक्त गर्दछौं।



१. चर्चित ‘गौर हत्या काण्ड’ २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २८ जनामाओवादी समर्थक व्यक्तिहरुले अनाहकमा जीवन गुमाउनुपरेको थियो । वर्वर र पाशविक यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलकोसमेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ ।

२. मन्त्री रेणु यादवले माघ ५ गते आयोजित सोही कार्यक्रममा  जनमत पार्टीका अध्यक्ष  चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्य समेत प्रमाणित हुने श्रव्य-दृश्य सामग्री सार्वजनिक भएको छ । मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको यसबाट स्वत: स्पष्ट हुन्छ ।

३. बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो । मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ। मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुरदेउवाले आफैं लिनु अति आवश्यक छ  । अत: हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं  ।

हस्ताक्षरकर्ता

१. डा. केदानरनरसिंह केसी

२. चरण प्रसाई

३. गणेशकुमार मण्डल

४. सुशील प्याकुरेल

५. तारानाथ दाहाल

६. इन्द्र अर्याल

७. महामुनीश्वर आचार्य

८. कनकमणि दीक्षित


  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १४:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया