प्रचण्ड-नेपालले अडान नछाड्दा बालुवाटार बैठक निष्कर्षविहीन, संसद्‍ बैठक सार्न आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई लिए सत्तारूढ गठबन्धनका दलहरू बीचको आ–आफ्नै अडानका कारण शनिबार बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच लामो छलफल भए पनि बैठकले कुनै निर्णय नलिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।  उनले भने, ‘आजको बैठकले कुनै निर्णय लिएको छैन, फेरि बैठक बस्ने छ । त्यतिबेला केही होला ।'

बैठकमा २ फागुनका लागि डाकिएको संसद बैठक सार्न प्रचण्ड र नेपालले आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमाले २ फागुनमा उपस्थित हुन नसक्ने र संसद सार्न गरेको अनुरोधको कारण अध्यक्षद्वयले ४ फागुनमा संसद बैठक सार्न सुझाव दिएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

बैठकमा पछिल्लो समय पेचिलो बन्दै गएको एमसिसी परियोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा लामो छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न ढिलाइ भएको भन्दै दुवै नेतालाई आगामी २ फागुनमा बस्ने संसद बैठकमा पेस गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर, प्रचण्ड र नेपालले भने प्रधानमन्त्री देउवाको प्रस्तावलाई अस्वीकार गर्दै यथास्थितिमा संसदमा पेस गर्न नहुने अडान कायमै राखेका स्रोतको भनाइ छ ।



एमसीसी संसद्मा टेबल गर्नुअघि गठबन्धनमा रहेका दलहरूबीच साझा धारणा बनाइ प्रतिपक्षी दलसँग पनि छलफल गर्नुपर्ने उनीहरूले प्रस्ताव राखेका थिए । साथै स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने धारणा पनि उनीहरूले दोहोर्‍याएका थिए ।

एमसिसीलाई लिएर गठबन्धनमा तनाब बढ्दो छ । प्रधानमन्त्री देउवा र प्रचण्डले एमसिसी अध्यक्षलाई थप समय माग गर्दै पठाएको पत्र सार्वजनिक भएपछि अहिले राजनीति तरंगित बनेको छ ।



अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले चर्को दबाब दिइरहेको छ । गत बुधबार मात्रै एमसिसी उपाध्यक्ष फातिमा सुमारले एमसिसी परियोजना पास नगरे फिर्ता लाने चेतावनीसमेत दिएकी थिइन् ।

बिहीबार मात्रै अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवा, प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई फोन गरेर सम्झौता अनुमोदन नगरे आफ्नो नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको थिए ।

प्रधानमन्त्री देउवा पास गराउने पक्षमा छन् भने गठबन्धनमा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसीमा फरक मत राखेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारमा सहभागी दलहरूको साझा धारणा आएपछि मात्रै आफूले निर्णय लिने बताउँदै आएको छ ।

  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १५:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया