ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरूकाे संरक्षणमा सरकारले जिम्मेवारी लिएन : मेयर शाक्य
फाइल फाेटाे

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरूको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन् ।

मेयर शाक्यले सम्पदाहरूको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताएका हुन् ।

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उनले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनर्निर्माणकाे कामलाई अघि बढाएको दाबी गरे ।

मेयर शाक्यले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरूलाई नै दिने नीति अनुसार काम भइरहेको दाेहाेर्‍याए ।

उनले भने, ‘हामीले चुनावको बेला घोषणा गरेका थियौं कि काठमाडौं एउटा ऐतिहासिक सहर, सांस्कृतिक सहर हाे, यसलाई जीवन्त बनाउनुपर्छ भनेर । यसलाई संरक्षण गर्ने, प्रवर्द्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीति लियौं । चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं । अहिले पनि यो सम्पदान भनेको राज्यको सम्पत्ति हो । यो पहिलो गठियारहरूले बनाएका थिए । त्यो गुठियारले अहिले संरक्षण गर्न नसकिरहेको अवस्थामा राज्यको उपस्थिति त्यहाँ हुनुपर्छ । राज्यले संरक्षण पनि गर्ने हो । त्यसका लागि हामीले आर्थिक पक्ष आफूहरूले हेर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको काम गठियारलाई नै दिने नीति लिएका छौं । यसको संरक्षणको लागि संघीय सरकारले जिम्मेवारी लिएन । हामीले जिम्मेवारी लिएर पुनर्निर्माणको कामलाई तीव्रता दिएका छौं ।’

सो आँगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । 



जस अनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए ।

समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिब साढे १ करोड बजेट लाग्नेछ । २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १४:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया