[स्थानीय निर्वाचन] यसपालि वीरगञ्जमा कुन दलको पल्लाभारी ?

वीरगञ्ज मधेश प्रदेशको एक मात्र महानगरपालिका हो । त्यति मात्र होइन वीरगञ्ज देशको आयात र निर्यातको प्रमुख नाका पनि हो । वीरगञ्जलाई मधेश आन्दोलनको प्रमुख केन्द्रको रूपमा पनि हेर्ने गरिन्छ ।

देशभर मौसमी तापक्रमसँगै चुनावी माहोल पनि तातेको छ । वीरगञ्जमा पनि चुनावी कार्यक्रमहरूले पनि तीव्रता पाएका छन् । देशकै प्रमुख आर्थिक केन्द्र मानिने वीरगञ्जमा हुने निर्वाचनलाई काठमाडौंले पनि नजिकबाट नियालिरहेको छ । वीरगञ्जले मुलुकको कुल राजश्वमा करिब ३५ प्रतिशत योगदान दिँदैछ । यहाँ दुईवटा ठूला भन्सार कार्यालय छन् ।

भारत र तेस्रो मुलुकबाट आयात र निर्यात हुने नेपालको एक मात्र शहर वीरगञ्ज नै हो । त्यसैले अर्थ राजनीतिका रूपमा पनि वीरगञ्जको निर्वाचनलाई सबैले प्रतीक्षा गरेर बसेका छन् । 

स्थानीय निर्वाचनमा होमिएका राजनीतिक दलहरू गठबन्धन गर्ने वा एक्लै निर्वाचनमा जाने भन्नेबारे छलफलमा छन । आगामी ३० वैशाखका लागि सरकारले मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आफ्ना कामकारबाहीलाई तीव्रता दिएको छ ।

०७४– वीरगञ्जलाई फर्केर हेर्दा

०७४ सालको स्थानीय निर्वाचनमा तेस्रो चरणको चुनाव मधेश प्रदेशमा भएको थियो । २ असोजमा भएको निर्वाचनमा प्रदेशकै बढी चासोको साथ वीरगञ्जलाई हेरिएको थियो । 



त्यतिबेला प्रमुख दलहरूले आ–आफ्ना उम्मेदवारहरू उठाएका थिए । जसमा तत्कालिन संघीय समाजवादीका विजयकुमार सरावगी प्रमुखमा विजयी भएका थिए । १९ हजार ३९३ मत पाएका थिए । सरावगीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएर दोस्रो भएका थिए ।

त्यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंहले १२ हजार १ सय ६५ मत प्राप्त गरेका थिए । नेपाल लोकतान्त्रिक फोरमबाट मेयरका उम्मेदवार विमलप्रसाद श्रीवास्तवले ८ हजार ७ सय १ मत प्राप्त गरेका थिए । नेकपा एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका मेयर उम्मेदवार रहवर अन्सारीले ८ हजार ३ सय ५ मत प्राप्त गरेका थिए। 



उपप्रमुखमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन् । त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरमकी पिंकी देवी यादव १८ हजार ५३० मत पाएर दोस्रो भएकी थिइन् । राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार रम्भा मिश्राले १० हजार ६ सय ६३ मत पाएकी थिइन । उता, माओवादी केन्द्रबाट उम्मेदवार बनेकी सोफिया आचार्य १० हजार ३ सय ४१ मतसहित चौथो बनेकी थिइन । 

वीरगञ्जको राजनीतिमा कमजोर एमाले !

सत्तारुढ दलहरूबीच चुनावी गठबन्धनको चर्चा चलिरहँदा एमाले एक्लै निर्वाचनमा होमिने दाबी गरिरहेको छ । तर, वीरगञ्ज महानगरपालिकामा एमाले ०७४ सालमा निकै कमजोर थियो । संघीय समाजवादीबाट विजयी भएका सरावगीले १९ हजार मत पाउँदा एमाले उम्मेदवार अन्सारीले जम्मा ८ हजारमा चित्त बुझाए । 

वीरगञ्जको राजनीतिमा कमजोर मानिएको एमालेले त्यतिबेला मुस्लिमको भोट आकर्षित गर्नका लागि अन्सारीलाई उम्मेदवार खडा गरेको चर्चा पनि चलेका थिए । वीरगञ्जको मेयरमा बाजी मार्दा तराई मधेशको कोर क्षेत्रमा पहिलो शक्ति बन्न सकिने अपेक्षा एमाले वृत्तमा त्यतिबेला पनि उठेको थियो । महानगरका ३२ वडामध्ये एमालेले ५ वटामा मात्र जितेको थियो । 

मेयर एमालेमा प्रवेश गरेपछि...

एमाले अध्यक्ष केपी शर्मा आफैं वीरगञ्ज​ पुगेर २८ फागुनमा सरावगीलाई एमालेमा प्रवेश गराए । उनी एमाले प्रवेशलाई एमालेले निकै महत्व दिएको छ । व्यावसायिक घरानाका सरावगी २०७४ को स्थानीय निर्वाचन हुनुभन्दा पाँच महिनाअघि मात्रै राजनीतिमा प्रवेश गरेका थिए ।

राजनीतिज्ञले विकास नगरेको भन्दै चुनाव लड्नका लागि उनी संघीय समाजवादी फोरममा प्रवेश गरे । त्योबेला पनि उनी टिकट पक्का गरेर मात्रै राजनीति प्रवेश गरेका थिए । 

त्यसअघि उनी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भइसकेका थिए । मेयर सरावगीलाई पार्टी प्रवेश गराएसँगै एमालेले मधेश राजनीतिलाई पनि प्राथमिकतामा राखेको छ । यसकारण पनि यो पटकको निर्वाचनमा सरावगीसहितका नेताहरूलाई प्रयोग गरेर एमालेले आफ्नो पकड बनाउने सम्भावना रहेको विश्लेषण हुन थालेको छ ।

के होला यो पटक ? 

मेयर सरावगी कांग्रेस प्रवेश गर्न लागेको वीरगञ्जमा ठूलो चर्चा थियो । कांग्रेससँग उनले स्थानीय तह चुनावमा मेयरको टिकट मागेको तर वाचा नदिएका कारण उनले एमाले रोजेको चर्चा अहिले पनि हुन्छ ।

अघिल्लो निर्वाचनमा सरावगीसँगै प्रतिस्पर्धामा रहेका राजेशमान सिंह एमालेमा प्रवेश गरेर वीरगञ्जको मेयर बन्ने भएपछि सरावगीले एमाले प्रवेश गरेको चर्चा अहिले पनि वीरगञ्जमा छ । 

सरावगीलाई एमालेबाट मेयरको टिकट दिनेगरी एमाले प्रवेश गराइएको हल्ला चलिरहँदा अन्य दलहरूले पनि आ-आफ्नो आन्तरिक तयारी भने गरिरहेकै छन् । गठबन्धन कायमै रहेको खण्डमा कसले कसरी सहयोग गर्छ भन्ने यकिन भइसकेको छैन । 


  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १६:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया