लोकतान्त्रिक गणतन्त्रमा पृथ्वीनारायण शाह कति आवश्यक ?

एकीकरण कि विजय ?

काठमाडौं– बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति नकारात्मक टीकाटिप्पणी नगर्न फर्मान जारी गरे । ओलीले पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको बताइरहँदा विश्लेषक तथा अध्येताहरू भने शाहले ‘एकीकरण’ नभई गोर्खा विस्तार गरेको बताउने गर्छन् ।

शाहवंशीय राजतन्त्रका संस्थापक तथा ‘बडामहारजधिराज’का नाममा परिचित पृथ्वीनारायण शाहको जन्मदिनलाई गत वर्ष सरकारले ‘राष्ट्रिय एकता दिवस’को रूपमा मनायो । शाहको जन्मजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’ भनेर लोकतान्त्रिक गणतन्त्रको परिहास गरिएको बताउँछन् विश्लेषकहरू ।

नेपाल एकीकरणकर्ताको रूपमा परिचित शाहलाई आधुनिक नेपालका निर्माता भन्ने गरिए पनि विश्लेषकहरू शाहले नेपाल ‘एकीकरण’ नभई गोर्खा राज्य विस्तार गरेको बताउँछन् । 

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भन्छन्, ‘पृथ्वीनारायणले नेपाल एकीकरण भन्दा पनि गोर्खा राज्य विस्तार गरेका थिए ।’ शाहले गोर्खा राज्य विस्तार गर्ने क्रममा ‘नेपाल खाल्डो’ (काठमाडौं उपत्यका) जितेको तर्क दिन्छन् महर्जन् ।

ठूलो भूक्षेत्रको शासक हुने मनसायले तत्कालीन बाइसी तथा चौबिसी राज्यमाथि आक्रमण गरेर विजय हात पारेको बताउँछन् महर्जन । शाहलाई ‘महत्त्वकांक्षी’ व्यक्तिका रूपमा चित्रित गर्दै महर्जन भन्छन्, ‘उनले एकीकरण गर्ने वा देश बनाउने भन्दा पनि ठूलो भूक्षेत्रको शासक हुने ‘महत्त्वकांक्षा’ले गोर्खा राज्य विस्तार गरेका हुन् ।’



शाहले योजनाबद्ध रूपमा नेपाल एकीकरण नगरेको तर्क गर्छन् राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईं । उनी भन्छन्, ‘इतिहासले के देखाउँछ भने शाहले आफ्नो राज्यको भूमि विस्तार गर्दा नेपाल बनेको हो । यो कुनै योजनाबद्ध तवरमा बनेको होइन ।’

शाहले ‘एकीकरण’ गरिसकेपछि पनि नेपाल नभई गोर्खा भन्ने गरिएको कुरा पनि इतिहासमा रहेको विश्लेषक बताउँछन् । सन् १९३० सम्म औपचारिक रूपमा नेपाल अस्तित्वमै नरहेको बताउँछन् विश्लेषक महर्जन् । ‘सन् १९३० सम्म औपचारिक रूपमा नेपाल भन्ने अस्तित्वमा थिएन,’ महर्जन भन्छन्, ‘राणा र राजाहरूले पनि लामो समयसम्म ‘गोर्खा’ भन्ने गर्थे ।’



पृथ्वीनारायण शाहले गोर्खाको राजधानी काठमाडौं सारिसक्दा पनि नेपाल भन्ने शब्द औपचारीक रूपमा प्रचलनमा नरहेको बताउँछन् महर्जन । पञ्चायतकालसम्म पुग्दा पनि काठमाडौं उपत्यकालाई मात्र ‘नेपाल’को रूपमा लिइने तथ्य इतिहासमा भेटिने गरेकै कारण शाहले नेपाल एकीकरण नगरेको महर्जनको तर्क छ ।

पृथ्वीनारायणले गोर्खा विस्तार गरेको तर्कलाई बलियो बनाउने आधारका रूपमा अहिले प्रचलनमा रहेको ‘गोरखापत्र’ पनि एक हो भन्ने तर्क विश्लेषकको छ । यसबाहेक साझा प्रकाशनको नाममा रूपान्तरण भएको ‘गोरखा भाषा प्रकाशिनी समिति’ भारतबाट मोतीराम भट्टले प्रकाशन गरेको ‘गोरखा–भारत जीवन’ पत्रिकाको नाममा गोरखा जोडिनुले शाहले गोरखा विस्तार गरेको तर्क गर्छन् विश्लेषक ।

२०१५ साल माघमा महेन्द्रले भैरहवामा ‘दुर्भाग्यवश पुरानो चलनअनुसार काठमाडौंबाहिर रहेका नेपालीमा ज्यादैगरी काठमाडौंलाई मात्र नेपाल भन्ने बानी रहेछ, तर यो बानी वा चलन मलाई राम्रो लागेन र अबउप्रान्त काठमाडौंलाई मात्र नेपाल भन्ने बानीलाई प्रत्येक नेपाली मात्रले हटाई महाकालीदेखि मेचीसम्म नेपाल र राजधानीलाई काठमाडौं भन्ने बानी गरुन्, यो मेरो अपिल छ’ भन्नुले पनि शाहले नेपाल एकीकरण नगरेको कुरा प्रस्ट पारेको विश्लेषकहरू बताउँछन् ।

विभिन्न ऐतिहासिक तथ्यले पृथ्वीनारायणले नेपाल एकीकरण गरे भन्ने कुरा पुष्टि नगर्ने महर्जन बताउँछन् । इतिहासको कसीमा राखेर हेर्दा शाहले गोर्खा विस्तार गरेको देखिने भएकाले उनले एकीकरण गरे भन्नु गलत हुने उनको ठहर छ ।

शाहले तत्कालीन ‘नेपाल खाल्डो’को वैभव, तराईको अन्नभण्डार र तिब्बतसँगको व्यापारको मोहले उनलाई राज्य विस्तार गर्न लोभ्याएको महर्जनको ठहर छ । शाहको यही महत्त्वाकांक्षाले कालान्तरमा नेपाल बनेको उनी बताउँछन् । ‘आर्थिक र सामरिक रूपमा सम्पन्न राज्यमा शासन गर्ने पृथ्वीनारायणको रहरले गोर्खा विस्तार भयो,’ महर्जन अगाडि भन्छन्, ‘पछि उनको यही महत्त्वाकांक्षाले नेपाल बन्यो ।’ 

तर, अर्काथरी विश्लेषक भने आजको नेपाल जनताको संघर्ष र बलिदानीले निर्माण भएको तर्क दिँदै नेपाल निर्माणमा शाहको कुनै योगदान नरहेको बताउँछन् । समाजशास्त्री तथा विश्लेषक बालकृष्ण माबुहाङ भन्छन्, ‘आजको नेपाल, अनि यो व्यवस्था जनताले लडेर, बलिदानी गरेर रगत बगाएर बनेको हो । कसैको बाहुबल वा कुनै शासकको महत्त्वाकांक्षाले बनेको हाइन ।’

पृथ्वीनारायण शाहले हिंसाको बलमा तत्कालीन समयका कमजोर र साना राज्य विजय गरेकाले उनले गरेको हिंसालाई एकीकरण वा एकताको आवरणमा ढाकछेप गर्नु सामन्ती चरित्रको उपजको रूपमा अथ्र्याउँछन् विश्लेषक । शाहले एकता वा एकीकरण गरेको धारणा राख्नेहरूप्रति लक्षित गर्दै विश्लेषक महर्जन प्रश्न गर्छन्, ‘दमन र हिंसाको बलमा उनले ससाना राज्यमाथि विजय गरेका हुन्, त्यसलाई कसरी एकता र एकीकरण भन्ने ?’ 

शाहलाई शासकको रूपमा चित्रण गर्दै राजनीतिक विश्लेषक आहुति पृथ्वी जयन्तीलाई एकता दिवसको रूपमा स्वीकार गर्न नसकिने बताउँछन् । पृथ्वीनारायणले एकीकरण गरेको विषय नै विवादास्पद भएकाले यसलाई एकता वा एकीकरण दिवस भन्नु इतिहासमाथि अन्याय हुने बताउँछन् विश्लेषक प्रसाईं ।

शाहले राज्य विस्तारको क्रममा कमजोर राज्यमाथि अमानवीय व्यवहार गरेका कारण पनि उनलाई एकताको प्रतीक मान्न नसकिने विश्लेषकको ठहर छ । कीर्तिपुरमा दुईपटक आक्रमण गर्दा पनि विजय हात नपारेपछि शाहले तेस्रोपटककको आक्रमणमा कीर्तिपुरवासीको नाक, कान काटेका घटना इतिहासमा पढ्न पाइने बताउँछन् महर्जन । यसबाहेक कुमाउ तथा गढवालमा शाहका सैनिकले गरेको अत्याचारलाई लिएर गीत पनि गाइन्छन् ।

शाहले युद्धमा अमानवीय र क्रूर चरित्र देखाएको बताउँदै विश्लेषक आहुति प्रश्न गर्छन्, ‘राज्य विस्तारका क्रममा विभिन्न सभ्यता र जातिमाथि भएका जघन्य अपराधका घटनालाई ती जातिले कसरी एकताको रूपमा लिन सक्छन् ?’

‘आफ्नै देशभित्रका कुनै जाति वा समुदायलाई हराउने, उनीहरूमाथि दुव्र्यवहार गर्ने व्यक्तिलाई एकताको प्रतीकको रूपमा उभ्याउनु सत्ताको सामन्ती चरित्र हो,’ विश्लेषक महर्जन भन्छन् ।

शाहसँगको युद्धमा धेरै जाति, समुदाय पराजित भएको हुँदा एकता र एकीकरण नायकको रूपमा शाह सर्वस्वीकार्य नभएको बताउँछन् विश्लेषक प्रसाईं । ‘पृथ्वीजयन्ती वा एकता दिवस भन्ने कुरा समग्र नेपालीले स्वीकार गरेको कुरा होइन,’ उनी अगाडि थप्छन्, ‘शाहलाई एकताको प्रतीक वा राष्ट्रनायक त शाहवंशले बनाएको हो ।’ 

शाहको जन्मजयन्तीलाई एकता वा एकीकरण भन्दै सेलिब्रेट गर्नु उनीसँग युद्धमा पराजित र उनीद्धारा पीडित समुदाय, जाथिमाथिको अपमान हुने बताउँछन् विश्लेषक महर्जन । उनी भन्छन्, ‘आज आएर उनलाई एकताको प्रतीक बनाउनु भनेको तत्कालीन समयमा उनीद्वारा पराजित समुदाय र जातिलाई थप पीडा दिनु र अपमान गर्नु हो ।’

शाहको जन्मजयन्तीलाई एकताको रूपमा मनाउँदा समाज थप उद्वेलित र आक्रोशित हुने बताउँछन् विश्लेषक आहुति । उनी भन्छन्, ‘उनको विजयलाई एकता भन्नु राम्रो कुरा होइन । यस्तो गर्दा समाजमा एकताको सट्टा विखण्डन र दुःखको वातावरण बन्छ ।’ 

नेपालमा शाहले दमन र हिंसाको बलमा गरेको विजयलाई एकीकरणको रूपमा अथ्र्याउने हो भने भारतमा अंग्रेजले गरेको दमन र हिंसालाई पनि एकीकरण किन भनिन्न भन्दै महर्जन प्रश्न गर्छन्, ‘भारतमा पनि अंग्रेजले एकीकरण गरेर शासन गरेका थिए । के अब भारतीयले पनि अब अंग्रेजको पूजा गर्दै अंग्रेजले भारतको एकीकरण गरे भन्लान् त ?’

लोकतान्त्रिक गणतन्त्रमा पृथ्वीनारायण शाह

मुलुक सैद्धान्तिक रूपमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा भए पनि व्यक्तिपूजा गर्ने सामन्ती र शासकीय मानसिकताका कारण आज पनि पृथ्वीनारायण शाहको पूजा हुने गरेको बताउँछन् महर्जन । 

लामो समयसम्म सामन्ती व्यवस्थाद्वारा शासित नेपालमा इतिहास व्यक्तिले निर्माण गर्छ भन्ने बुझाइ सर्वोपरि रहेको बताउँछन् विश्लेषक महर्जन । उनी भन्छन्, ‘सामन्ती व्यवस्थामा इतिहास जनताले होइन, उच्च जात, कुल र वर्णका शासकले निर्माण गर्छन् भन्ने बुझाइ हुन्छ ।’ 

लोकतान्त्रिक गणतन्त्रमा सामूहिक प्रयासलाई स्वीकार गर्ने परिपाटी हुन्छ । तर, राजनीतिक दलभित्र र सत्तामा सामन्तवादी चिन्तन हावी हुँदा शाहको ‘ह्याङओभर’ले अझै नेताहरूमा देखिने तर्क दिन्छन् महर्जन ।

राजतन्त्रको गौरवका रूपमा स्थापित पृथ्वीनारायण शाह पछिल्लो समय राष्ट्रवादसँग जोडिन पुगेको बताउँछन् विश्लेषक आहुति । पहाडी अन्धराष्ट्रवादको आवरणमा शाहलाई ‘फिट’ गरेर जनतामाथि सामन्ती संस्कार लाद्न खोजिएको बताउँछन् आहुति ।

शाहलाई लोकतान्त्रिक गणतन्त्रमा समेत ‘नायक’को रूपमा स्थापित गर्ने प्रयास गरेर पहाडिया राष्ट्रवादले ‘आफूले गरेको काम सबै सही र आफू अरूभन्दा उपल्लो स्तरको मान्छे हुँ’ भन्ने भाव विकसित गरेको उनको तर्क छ । 

लोकतान्त्रिक गणतन्त्रमा पनि शाहलाई नै नायक मान्ने भए गणतन्त्रका लागि किन संघर्ष गर्नुपरेको भन्दै प्रश्न गर्छन् समाजशास्त्री माबुहाङ, ‘राज्यको सार्वभौमशक्ति श्रीपेच र राजदण्डबाट निःसृत हुने हो या जनताको मताधिकारबाट ? आज पनि पृथ्वीनारायणलाई नै नायक मान्ने भए जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र अर्थ के ?’

नेपाली संविधान र राज्य व्यवस्थाले पनि नेपाल कसैको बाहुबलले निर्माण भएको कुरा नस्विकार्ने बताउँदै माबुहाङ भन्छन्, ‘नेपाल कसैको निगाह र बाहुबलबाट बनेको देश होइन । त्यसैले पृथ्वीनारायणको जन्मजयन्तीलाई एकता दिवस भन्नु भनेको ‘घुमिफिरी रुम्जाटार भनेजस्तै हो ।’ 

शाहका सन्तानले उनलाई आफ्ना पुर्खाको रूपमा सेलिब्रेट गरे पनि समग्र नेपाल र नेपाली जनताले भने उनको पूजा नगर्ने उनी बताउँछन् । जनमतले बनाएको संघीय लोकतान्त्रिक व्यवस्थामा कुनै पनि व्यक्तिको पूजा गर्न नसकिने माबुहाङको तर्क छ ।

पृथ्वीनारायण शाहको जन्मदिन मनाउनु असंगत र सन्दर्भविहीन बताउँदै समाजशास्त्री माबुहाङ भन्छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको नागरिकका रूपमा मलाई कुनै एउटा व्यक्ति मेरो एकताको रूपमा स्वीकार्य छैन ।’

संसारभर हिंसाबाटै राज्य निर्माण हुने भए पनि कालान्तरमा हिंसामा परेका मान्छेले आफू अन्यायमा परेको कुरा उठाउने बताउँदै विश्लेषक भन्छन्, ‘त्यसैले अब पृथ्वीनारायण शाहलाई एकताको प्रतीक मान्नु भनेको गणतन्त्रमाथि नै मजाक गरेसरह हो ।’

जन्मका आधारमा कोही एकताको प्रतीक बन्ने समय सकिएको तर्क दिँदै अबको एकता लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित हुनुपर्ने बताउँछन् विश्लेषक महर्जन । व्यक्ति नायक हुने सामन्ती संस्कार समाप्त भएको भन्दै महर्जन सामूहिकतालाई नै एकता र राष्ट्रियताको रूपमा विकास गर्नुपर्ने बताउँछन् । 

पृथ्वीनारायण शाहलाई इतिहासको एक पात्रको रूपमा मात्रै लिँदै उनलाई अब इतिहासमै छाड्नुपर्ने बताउँदै समाजशास्त्री माबुहाङ भन्छन्, ‘उनका कर्म-कुर्कमको दृष्टान्त इतिहासमा सुरक्षित छ । त्यसैले अब उनलाई इतिहासमै छाड्नुपर्छ । उनलाई आजको समयमा पुनर्जीवित पार्न खोज्नु हुन्न ।’
 

  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार १२:२२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया