पोखरामा ३९ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

कास्कीको पोखरामा आज ३९ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले अहिलेको सरकारले राष्ट्रिय भूमि आयोगमार्फत वितरण भइरहेको लालपुर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गरिन् । 

उनले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर भूमिहीन सकुम्वासीलाई लालपुर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी रहने बताइन् । मन्त्री श्रेष्ठले अबको २ वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने गरी सरकार योजना बनाएर अगाडि बढेको बताइन् । 

यस अभियानका कोही पनि वास्तविक भूमिहीन सुकुम्वासी भूमि पाउनबाट वन्चित हुन नहुने उनको भनाइ छ । उनले भूमिको उचित प्रयोगका लागि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याइएको बताइन् । 

भूमि र भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडि बढिसकेको भन्दै उनले छिटो जग्गाको वर्गीकरण गर्न स्थानीय तहहरुलाई आग्रह समेत गरिन् ।   

भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने गरी योजनाबद्ध रुपमा सरकार अगाडि बढेको पनि उनले जानकारी दिइन् । 



मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न उनीहरुको पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको जानकारी पनि दिइन् । 

मन्त्री श्रेष्ठले भूमिसँग जोडिएका समस्या समाधान गर्न भूमिको क्षेत्रमा कार्यरत सबै सचेत बन्नुपर्नेमा जोड दिँदै संविधानमा लिपिबद्ध नागरिकका हक कार्यान्वयन गर्न कसैले पनि बाधा सिर्जना गर्न नहुने बताइन् । 
 



  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १८:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया