एमाले उपाध्यक्ष पौडेललाई वामदेव नेतृत्वकाे पार्टीकाे साथ

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामदेव गौतम नेतृत्वको (नेकपा) राष्ट्रिय एकता अभियानकाे साथ पाउने भएका छन् । साे पार्टीले रूपन्देहीको क्षेत्र नं २ मा पौडेललाई सघाउने घाेषणा गरेकाे छ । 

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियानका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनीका इन्चार्ज महेन्द्र अर्यालले पार्टीको समर्थन पौडेललाई रहने जानकारी दिएका हुन् । विष्णु पौडेल एमालेको मात्र नेता नभई सिंगो देशको नेतृत्व गर्न सक्ने नेता भएकाले आफ्नो समर्थन उनलाई रहेको उनकाे जिकिर छ । 

‘उहाँ सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजान सक्ने नेता हुनुहुन्छ, अर्यालले भने, 'उहाँ राष्ट्रका लागि आवश्यक नेता हो ।’

अभियानका राष्ट्रिय अध्यक्ष वामदेव गौतमले आफ्ना मतदाता र समर्थकहरूलाई स्वविवेक मताधिकार प्रयोग गर्न निर्देशन दिएका थिए । उनले सत्ता गठबन्धनको सहयोगमा प्युठानबाट चुनाव उठ्न भाहेका थिए । साे क्षेत्र जनमाेर्चाकाे भागमा परेपछि उनको दलले निर्वाचनमै भाग नलिने निर्णय गरेको थियो । 

यसअघि गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

वामदेवको सहयोग पाएपछि पौडेललाई निर्वाचन जित्न थप राहत मिलेको छ । पौडेलको क्षेत्रमा २५ सयभन्दा बढी मत रहेको अर्यालको दाबी छ ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १६:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया