प्रचण्डलाई ओलीको प्रश्न– अर्को पार्टीसँग मिलेर सरकार बनाउन खोज्ने तपाईंको नैतिकता कहाँ छ ?

नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको प्रतिवेदनको जवाफले अहिले तरंग सिर्जना गरेको छ । 

कार्तिक २८ गते सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ स्वरुप १३ मंसिरमा प्रधानमन्त्रीसमेत रहेका ओलीले ४० पेज लामो प्रतिवेदन दिएका छन् । 

यो प्रतिवेदनमा उनले प्रचण्डमाथि निकै धेरै आरोप लगाएका छन् । तिनैमध्ये एक हो, प्रचण्डको नैतिकता माथिको आरोप । 

प्रतिवेदनमा ओलीले प्रचण्डलाई निर्वाचनको समय स्मरण गराएका छन् । उनले प्रतिवेदनमा लेखेका छन्, ‘तपाईंले निर्वाचनपछि आफूलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको, तर आफूले त्यस अवसरलाई लत्याएर ठूलो त्याग गरेको र केपी ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भन्ने गर्नुभएको छ । तत्कालीन नेकपा (एमाले) सँग सरकार बनाउन १५ सिट अपुग भएको यथार्थ हो । तपाईंले मलाई प्रधानमन्त्री प्रस्ताव गर्नुभएको र दुई पार्टीको सहकार्यबाट सरकार बनेको पनि यथार्थ हो ।’

उनले थपेका छन्, ‘तर तपाईंको यो ‘महान त्याग’ को दाबी पुष्टि गर्नु अघि मामुली लाग्ने, तर केही अर्थपूर्ण घटनाक्रमलाई स्मरण गर्नु पर्ने हुन्छ । निर्वाचन आयोगले ‘समानुपातिक तर्फको मतगणना गरेर राष्ट्रियसभाको निर्वाचन नहुञ्जेल प्रतिनिधिसभाको परिणाम घोषणा गर्न मिल्दैन’ भनेर निर्वाचन सकिएको झण्डै साढे दुई महिनासम्म परिणाम निकाल्न अस्वीकार ग¥यो । आयोगमा तपाईंले सिफारिस गरेर पठाइएका साथीहरुको भूमिका यस सम्बन्धमा के थियो, दुनियालाई थाहा छ । गठबन्धनको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार बन्न कृत्रिम अवरोध सिर्जना गरियो । प्रतिनिधिसभामा १६ सिट जितेको सङ्घीय समाजवादी फोरमले सबैभन्दा ठूलो पार्टीलाई बाहिर राखेर सरकार बनाउनु गलत हुने कुरा गरेपछि मात्रै घटनाक्रमले सहज मोड लिएका हुन् । तर मैले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने दिन दुबै पार्टीका साथीहरुलाई साथै राखेर सानो टिम बनाउन पाइनँ । जनताले पहिलो गासमै ढुङ्गा लागेको अनुभव गरे । २०७४ फागुन ७ गते राति ‘दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्री’ को लिखतमा सही नहुञ्जेल सरकारले पूर्णता पाउने वातावरण बनेन ।’

ओलीले प्रचण्डलाई सोधेका छन्, ‘एउटै चुनावी घोषणापत्र सहित, वाम गठबन्धन बनाएर चुनाव लडेको पार्टीका नेताको हैसियतमा तपाईंले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयाश  गर्नु नैतिकताको कसीमा कहाँनिर उभिन पुग्थ्यो ? चुनावबाट तेस्रो पार्टीका रुपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपाईंभित्र सुषुप्त रुपमा लुकेको सत्तालिप्सा ?’



उनले आफ्नै दलको सरकार बन्दा पनि सुरु देखि नै असहयोग गर्नुबारे पनि प्रचण्डसँग जवाफ माग गरेका छन् ।




  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १९:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया