महेश बस्नेत पथमा शंकर पोखरेल ?!

गत वैशाख । तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एक अध्यादेश ल्याएका थिए । चार दिनमा फिर्ता गर्नु परेको त्यो अध्यादेश थियो, राजनीतिक दलसम्बन्धी अध्यादेश । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी फुटाएर आफूलाई समर्थन गररहेका सांसदको संख्या बढाउन चाहन्थे । 

यसका लागि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याउने तयारी भएको थियो । समाजवादी पार्टीलाई फुटाउने उद्देश्यले ल्याएको अध्यादेशबारे छलफल गर्न त्यही समय बोलाइएको नेकपाको सचिवालय बैठक राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिदिएपछि कुनै छलफलविना सकिएको थियो ।

काठमाडौंमा प्रधानमन्त्री निवास बालुवाटारमा यो छलफल चलिरहेको थियो भने काठमाडौंबाट जनकपुर पुगेका थिए, नेकपा एमालेका दुई सांसद किसान श्रेष्ठ र महेश बस्नेत । उनीहरुसँग साथमा थिए, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल ।

यी तीन जनाले डा. यादवलाई समाजवादी पार्टी फुटाउन जनकपुरबाट ‘अपहरण’ गरेर काठमाडौं ल्याएका थिए । यसबारे फरकधारले त्यति बेला गरेकाे याे समाचार पढ्नुहाेस्— ​ओलीसँग बिग्रिएको सम्बन्ध नवीकरण गर्न महेश बस्नेतले गरेको ‘अपहरण’, फेरि फेल

काठमाडौं आएको केही समयपछि उनले मेरियट होटलमा तत्कालीन समाजवादी पार्टीका विश्वद्विप पाण्डेलाई भेटेका थिए र भनेका थिए– मलाई अपहरण गरेर ल्याइयो, बन्धक बनाएर राखियो ।



एमालेका यी दुई सांसद अहिले दुई कित्तामा बाँडिएका छन् । तर, दुवैले अझै पनि आफूले डा. यादवलाई त्यति बेला अपहरण गरेको बताएका छैनन् । 

अर्कोतिर नेकपा एमालेका नेता सुवास नेम्वाङले नै यसलाई ‘अपहरण’ शैलीमा सांसदलाई काठमाडौं ल्याइएको विषयमा बोलेका थिए, प्रतिनिधिसभामा । 



२६ वैशाखको प्रतिनिधि सभा बैठकमा नेम्वाङले भनेका थिए, ‘सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता  खालका कामहरु हुनु हुँदैन । तर भएको के हो ? यथार्थ के हो रु त्यस सम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौँ ।'

यो १५ महिनाअघिको कुरा हो । १५ महिनापछि फेरि एकपटक नेकपा एमालेले सांसद अपहरण गरेको आरोप लागेको छ । लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले यो आरोप लगाएकी छिन् । उनले आफूलाई अपहरण गरेर पाँच दिनसम्म मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो निवासमा बन्धक बनाएको आरोप लगाएकी छिन् ।

२१ असारमा बुटवलमा पत्रकार सम्मेलन गर्दै वलीले भनिन्, ‘मलाई पाँच दिन बन्धक बनाइयो, हिजो मुख्यमन्त्री निवासको शौचालयको चप्पल लगाएर भागेँ ।’ उनले प्रदेशका एमाले सचेत भूमिश्वर ढकालले आफूलाई अपहरण गरेर ल्याएको मात्र बताइनन्, मुख्यमन्त्री पोखरेलकै निर्देशनमा यस्तो भएकोसमेत दाबी गरेकी छिन् ।

वलीको ‘अपहरण’ प्रकरणले नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली खेमाका केही नेताहरुमा नै प्रश्न उब्जाएको छ, शंकर पोखरेल किन यति धेरै सत्ताप्रति लिप्त भएका छन् ?

 

याे पनि पढ्नुहाेस्— 

अपहरणको आरोप लागेका एमाले नेता भूमिश्वर ढकाल भन्छन्- हातखुट्टा बाँधेर ल्याएको हो र अपहरण भन्ने ?

 

‘वलीका आरोप आफ्नो ठाउँमा छन्, उनले भनेका कुराहरु गलत हुन् भन्ने पनि आइसकेको छ,’ नेकपा एमालेमा अध्यक्ष ओलीनिकट एक नेताले फरकधारलाई भने, ‘तर, सँगसँगै पोखरेल कमरेडले किन यस्तो गरिरहनु भएको छ भन्ने पनि प्रश्न उब्जिएको छ ।’ उनले पोखरेलले यसअघि आफू अल्पमतमा छु भन्ने थाहा पाएपछि नै मुख्यमन्त्री पदबाट राजीनामा दिनु उचित निर्णय हुने बताए ।

‘उहाँले राजीनामा दिएर राजनीतिक चरित्र देखाएको भए हुन्थ्यो,’ ती नेताले भने, ‘तर, अहिले एक सांसदले उहाँलाई अपहरण गरेको, बन्धक बनाएको आरोपसमेत लगाउन थालिसक्दा उहाँ चुपचाप हुनु ठिक होइन ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको यो कदमले पार्टीको छविमा समेत असर परेको नेकपा नेताहरुले एकअर्कासँग छलफल गर्नसमेत थालेका छन् । ‘जनतामा एमाले नेताहरु सत्तामा टिकिरहन जे पनि गर्छन् भन्ने सन्देश गएको छ,’ ती नेताले भने, ‘गम्भीर र तार्किक, भविष्यमा एमाले नेतृत्वमा आउने पोखरेलले समयमा नै यसबारे सोच्नु पर्ने हो ।’

एमालेकै तर माधवकुमार नेपाल खेमाका अर्का एक केन्द्रीय सदस्य चाहिँ पोखरेल एमाले सांसद महेश बस्नेतको पथमा लम्किएको टिप्पणी गर्छन् ।

 

पाेखरेलकाे कदममाथि फरकधारकाे सम्पादकीय— 

मुख्यमन्त्री पोखरेलमाथि उब्जिएका प्रश्न

 

‘कहिले युथफोर्स नामको संगठन गठन गरेर त कहिले सांसद अपहरण गरेर सांसद भए पनि बस्नेतले गैरराजनीतिक चरित्र देखाइरहेका छन्,’ ती नेताले भने, ‘कतै पोखरेल पनि महेश बस्नेत पथमा लागेका त होइनन् ?’

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार ७:५०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया