एक किशोरीले जबरजस्ती करणीको उजुरी दर्ता गरेपछि फरार रहेका अभिनेता पल शाह आज आफैँ प्रहरीसमक्ष उपस्थित हुने भएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफैँ आज प्रहरीसमक्ष उपस्थित हुने जनाएका हुन् ।
पलले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको, घरको सबै घर व्यवहार मिलाउनु परेको र चलचित्र ‘म यस्तो गित गाउँछु–२’ मा असर नपरोस् भनेर आफू समयमै प्रहरीसमक्ष उपस्थित हुन नसकेको पनि उल्लेख गरेका छन् ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु–२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु,’ पलले लेखेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैँ उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’
यसैबीच, आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पलको निर्णयप्रति अभिनेत्री पूजा शर्माले सहमति जनाएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘सम्मान छ हाम्रो रियल हिरोलाई, सत्यको जित अवश्य हुनेछ ।’
पलविरुद्ध गत बुधबार तनहुँ जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी परेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।