काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्राे पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ’

(सम्पादकीय नाेट :१४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा धनुषा जिल्लाका नेपाली कांग्रेसका सभापति महेशशंकर गिरीलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

१४औँ महाधिवेशनको मुखमा हामी छौँ । पहिलो कुरा त, वडा-वडाबाट नेतृत्व छान्नका लागि दबाब सिर्जना हुनुपर्छ । त्यसपछि नगर, नगरबाट क्षेत्र, क्षेत्रबाट प्रदेश हुँदै केन्द्रमा नेतृत्वका लागि सबैले आवाज उठाउनुपर्छ । मेरो आफ्नो विचारको बारेमा भन्नुहुन्छ भने, म नेपाली कांग्रेसलाई जीवन्त राख्नका लागि युवा र पाको नेतृत्वको सम्मिश्रणबाट नेतृत्व छान्नुपर्छ भन्छु । मूलतः युवाहरुको जोस र परिपक्वहरुको होस मिलाएर संगठनलाई अघि बढाउनुपर्छ । 

नेपाली कांग्रेसमा युवाहरु नै नेतृत्वमा आउनुपर्छ भन्ने बहस लामो समयदेखि भएको हो । युवाहरुले आफ्नो धार लिएर, भिजन लिएर नेतृत्वमा आउनुपर्यो । उहाँहरुले पार्टीको नेतृत्व तहमा पुग्छु भनिसकेपछि दोधारे भिजन लिएर अघि बढ्नुहुन्न । एउटा भिजन लिएर संगठनमा आउनुपर्छ, त्यो भिजन दूरगामी सोचका साथ आउनुपर्छ । 

नेपाली कांग्रेसमा परिवारवादको समस्या छ भनेर बहस हुँदै आएको छ । बहस नै भन्दा पनि धेरैले आफूअनुकूल टिप्पणी गर्नका लागि यो विषय उठाइरहेका छन् । म के भन्छु भने, म आफैँले विद्यार्थी संगठन नेविसंघमा जेरोबाट काम गर्न सुरु गरेको हुँ । त्यसपछि नेविसंघको केन्द्रीय समितिदेखि जिल्लासम्म पनि पुगेँ ।



अहिलेको नेतृत्वमा रहनुभएका शेरबहादुरजी, रामचन्द्रजीलगायतको निर्देशनमा हामीले काम गर्यौ‌ं । उहाँहरुले धेरै अवसर पाइसक्नुभयो । पार्टी कमिटी चुस्त हुन सकेनन् । एकपटक दोस्राे पुस्तालाई पार्टीको नेतृत्व दिनुपर्ने बेला आइसकेको छ । अबको नेतृत्व भनेको दोस्रो पुस्तामा आइपुग्नुपर्छ ।

नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेता पनि सक्षम छन् । भिजन लिएर बस्नुभएका नेताहरु हुनुहुन्छ । जस्तो कि, विमलेन्द्र निधि । उहाँले भिजन लिएर बस्नुभएको छ । उहाँको एनलाइसिस पनि धेरै कुरामा राम्रो छ । अहिले हिमाल, पहाड, मधेस–तराई सबैलाई मिलाउन सक्ने क्षमता भनेको मैले निधिमा देखेको छु ।



कसरी जाग्ने कांग्रेस ? 

कांग्रेसमा महाधिवेशन गर्नैपर्ने चुनौती एकातिर छ, अर्कोतिर सत्तामा पुगेसँगै जिम्मेवारी बढेका छन् । हाम्रो पार्टीमा क्रियाशील सदस्यताको विवाद पनि उत्तिकै छ । कहीँ जिल्ला सभापतिले नै बेइमानी गर्नुभएको छ । धुनषा जिल्लामा मैले दुई तह नवीकरण गर्नुपर्ने र क्रियाशील थप्नुपर्ने थियो । त्यसमा मैले जिल्लाभर खोजी–खोजी इन्ट्री गरेँ । तर, क्षेत्रीय सभापतिहरुले क्रियाशील सदस्यताको विवाद बढाइरहेका छन् । जस्तै, धनुषा जिल्लामा पनि त्यो भएको छ । क्षेत्र नम्बर २ र ३ मा भएको छैन, १ र ४ मा बेइमानी भएको छ । जसको कारणले साथीहरु आमरण अनशनसम्म बस्नुभयो । यो सरासर कमजोरी हो, यो निरुपण हुनुपर्छ । 

अहिले केन्द्रीय कार्यालयमा जिल्लाबाट धेरै कमजोरी भएको भन्दै गुनासा पुगेका छन् । तर, धनुषा जिल्लामा त्यस्तो छैन । अनशनकारीले गरेको निर्णय, जिल्ला प्रारम्भिक छानबिन समितिले गरेको निर्णय हामी सबैले मानेका छौँ । यो अक्षरशः लागू होस् । 

पदाधिकारी चयनमा सुझाब

महाधिवेशन गर्नका लागि पदाधिकारी एक्टिभ र स्वच्छ छविका हुनुपर्छ । नेतृत्व भन्ने कुरा सधैँ दायाँ–बाँया कुरालाई ध्यान नदिने, कार्यकर्तालाई माया गर्ने र पार्टी इतिहासलाई सम्झने खालको हुनुपर्छ । 

हामीसँग महाधिवेशन गर्नका लागि विभिन्न चुनौती छन् । यो विश्व नै कोभिडबाट समस्याग्रस्त छ । बाढी–पहिरो पनि लगातार आइरहेको छ । त्यसमा नेतृत्व वर्गले व्यवस्थापन गर्नुहुन्छ । हामी जे गर्नका लागि पनि जिल्लाबाट तयारी अवस्थामा बसेका छौँ । युवा र पाका मान्छेहरुको सम्मिश्रणबाट नेतृत्व चयन गरेर कांग्रेसलाई अबको नयाँ र बलियो पार्टीको रुपमा स्थापित गर्नुपर्छ । 

(गिरी नेपाली कांग्रेस, धनुषाका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १८:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया