फरकधार अपडेट: यी हुन् आजका मुख्य समाचार


पछिल्लो एक महिनायता नेपालमा राजनीतिक सरगर्मीले निकै तताएको छ । विकसित राजनीतिक घटनाक्रमले सबैको ध्यान अब के होला ? भन्नेतिरै छ । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेपछि २३ गतेलाई संसद् बैठक बोलाइएको छ । 

अहिले प्रधानमन्त्री ओलीसँग रुष्ट भएर छुट्टै समूह खडा गरेको पुष्पकमल दाहाल र माधव नेपाल जसरी हुन्छ ओलीलाई सत्ताबाट पछार्ने दाउमा छन् । त्यसका लागि सबैभन्दा उपयुक्त ठाउँ संसद् नै हो । संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएर ओलीलाई हटाउने र नयाँ सरकार गठनका लागि उनीहरु प्रयासरत छन् । 

त्यही कारण शेरबहादुर देउवालाई फकाएर कांग्रेससँग मिल्ने र संसद्मा अविश्वास प्रस्ताव दर्ता गराउने कसरतमा दाहाल–नेपाल देखिन्छन् । मंगलबारसम्म तटस्थ रहने बताएका कांग्रेस सभापति देउवा पनि अफर आए प्रधानमन्त्री पद नछाड्ने नै दाउमा देखिएका छन् ।

बुधबार चितवनमा भएको एक कार्यक्रममा उनले आफू पदलोभी नभएको तर, जिम्मेवारी आएको खण्डमा पछि नहट्ने भन्दै ओलीलाई सशंकित बनाएका छन् ।

यता विद्रोहको बाटो रोजेको नेकपा विप्लव समूहलाई पनि शान्ति प्रक्रियामा ल्याउने र दाहाल–नेपाल विरुद्ध उभ्याउने दाउमा सरकार देखिन्छ । साथै कांग्रेसलाई पनि कसरी हुन्छ अविश्वास प्रस्ताव दर्ता गराउनबाट रोक्ने रणनीतिमा ओली देखिन्छन् ।

सम्भवतः भोलिदेखि नै विप्लवमाथि लगाइएको राजनीतिक प्रतिबन्ध फुकुवा हुने संकेत पनि मिलेको छ । भोलिको बैठकले विप्लवमाथि प्रतिबन्ध लगाएर मूल धारको राजनीतिमा कसरी ल्याउने भन्ने निर्णय गरिनेछ । 



आज दिनभर पनि सरकार र असन्तुष्ट पक्षबीचकै समाचारले अनलाइनमा स्थान पाएको छ । सबैको चासो पनि अब नेपालको राजनीतिक दिशाले कस्तो मोड लिन्छ भन्नेतिरै छ । 

यस्ता छन् आज फरकधारमा छापिएका मुख्य मुख्य समाचारहरु 



प्रतिनिधिसभा: बोलाएकै दिन अन्त्य हुनसक्छ !​
 

प्रतिनिधिसभाको बैठकको तयारी निरीक्षणमा पुगेका सभामुख अग्नि सापकोटाकै भाषामा उत्साहका साथ तयारी भइरहे पनि बैठकको अधिवेशन भने सोही दिन अन्त्य हुने आशंका बढेको छ । 

सर्वोच्च अदालतको परमादेशलाई स्वीकार गरेर आफैंले विघटन गरेको प्रतिनिधिसभाको बैठक सरकारले लामोसम्म नचलाउने आँकलन यतिबेला सांसदहरुले नै गर्न थालेका छन् । १३ दिनभित्र बोलाउन सर्वोच्चले आदेश दिए पनि सरकारले भने एक दिन बैठक सञ्चालन गरेर यो पटकको हिउँदे अधिवेशनको अन्त्य गर्ने चर्चा नेकपाकै सांसदबीच चलेको छ ।

के कांग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउला ?

नेपाली कांग्रेसले अहिलेसम्म यस विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर, बुधबार चितवनमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने, तर जिम्मेवारी काँधमा आएमा पछि नहट्ने बताएका छन् । ​

सरकार-विप्लव दोस्रो चरणको वार्ता सम्पन्न

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच बुधबारै दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । 

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले दोस्रो चरणको वार्ता सम्पन्न भएको जानकारी दिएका हुन् । 

अफर आए प्रधानमन्त्रीका लागि तयार छुः  देउवा

 

चितवनमा आयोजित एक कार्यक्रममा सभापति देउवाले भने, ‘कांग्रेसलाई पद लोभ छैन । तर, जिम्मेवारी टाउकोमा आयो भने पछि हट्ने पनि छैन ।’ 

उनले आफूले प्रधानमन्त्री नमागेको तर, पाइएको खण्डमा पार्टीलाई नै फाइदा हुने धारणा व्यक्त गरे ।

यसअघि बुधबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री डा. शशांक कोइरालाले पनि पार्टी हितका लागि कांग्रेसले सत्ता साझेदारी गर्नुपर्ने बताएका छन् । 

एक अर्ब घुस प्रकरण पुष्टि गर्न वन मन्त्री आलेलाई चुनौती

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघले एक अर्ब घुस अफर गर्नेको नाम सार्वजनिक गर्न वन तथा वातावरणमन्त्री प्रेम आलेलाई चुनौती दिएको छ।

महासंघका अध्यक्ष श्याम सुन्दर ढकालले विज्ञप्ति निकालेर घुस दिन खोज्ने व्यवसायीको नाम सार्वजनिक गर्न चुनौती दिएका हुन्। उनले घुस दिने व्यक्तिलाई कडा कारबाही गर्ने पनि प्रतिवद्धता पनि जनाएका छन्।

सात महिनामा भित्रियो २५ अर्ब एफडिआई

चालु आर्थिक वर्ष ०७७/७८ को सात महिनाको अवधि (साउन–माघ) मा २५ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एडिआई) भित्रिएको छ । उक्त अवधिमा विभिन्न मुलुकबाट कुल २५ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ बराबरको एफडिआई नेपाल भित्रिएको उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले बताए ।​

नेकपा विवादबारे शीघ्र निर्णय देऊ : पूर्वआयुक्तहरु

​​नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

यसरी आग्रह गर्ने पूर्वप्रमुख निर्वाचन आयुक्तहरुमा सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा‍. अयोधिप्रसाद यादव र पूर्वकार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ छन् । 

सिभिल अस्पतालमा शीर्ष नेतासहित सांसदहरुले लगाए कोरोना खोप

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले कोरोना विरुद्धको खोप लगाएका छन् ।​

सिभिल अस्पतालमा सभामुख अग्निप्रसाद सापकोटासँगै अध्यक्षद्वयले खोप लगाएका हुन् । यस्तै नेकपा संसदीय दलका पूर्वप्रमुख सचेतक देव गुरुङले पनि खोप लगाएका छन् ​

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २३:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया