काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘अहिलेको अवस्थामा महाधिवेशन तोक्नु मूर्खता हो’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस  भोजपुर​का सभापति  नन्दमणि राई​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

पहिलो कुरा त नेपाली कांग्रेसको महाधिवेशन हुने–नहुने भन्ने नै अन्योल छ । हामीले सुझाब दिनेभन्दा पनि कसरी अधिवेशन हुने हो भनेर बुझ्नुपर्छ । विशेष अधिवेशनको हल्ला पनि छ । विशेष अधिवेशन भनेको कस्तो किसिमले हुन्छ, हामीले बुझ्न पाएका छैनौँ । 

नियमित अधिवेशन गर्ने हो भने सम्भावना एकदमै कम छ । किनभने विश्वव्यापी रुपमा बढेको कोरोना भाइरसको संक्रमण जिल्लैपिच्छे संक्रमण बढेको बढ्यै छ । यो बेलामा सरकारमा रहेको पार्टीले नै महाधिवेशन गरेर कोरोना फैलायो भन्ने आरोप लाग्छ । सत्तामै रहेको पार्टीले गैरजिम्मेवार भूमिका खेल्न हुँदैन । 

कांग्रेसले त खोप लिएर गाउँ–गाउँमा पुग्नुपर्ने अवस्था छ । हिजोको सरकारले जे–जे गर्यो त्यसलाई हेरेर कमसेकम पालिका–पालिकामा खोप लाने काममा अग्रसर हुनुपर्ने अवस्था सिर्जना भइसकेको छ । 



सभापति साथीहरुसँगको छलफलमा पनि मैले अधिवेशन हुन सक्ने सम्भावना कम भएको बताएको छु । हामी फुर्सदिलो समयमा चुप लागेर बस्यौँ, अहिले हतार गरिरहेका छौँ । साथै, स्थानीय चुनाव पनि आइसकेको छ । स्थानीय चुनावमा यसको प्रभाव पर्छ । मेरो व्यक्तिगत र जिल्लाका साथीहरुको भनाइचाहिँ अब स्थानीय चुनावअघि अधिवेशन गर्नुहुन्न भन्ने हो । तर, वैधानिकता कसरी जोगाउने भन्ने केन्द्रीय नेताहरुकै जिम्माको कुरा हो । नेताहरुको पनि अधिवेशन गर्नेभन्दा बोल्ने मात्र सोच देखिएको छ । 

अहिलेसम्म निर्देशिका छैन, निर्देशिका बनाउनका लागि क्रियाशीलले रोक्दैनन् नि त ! अहिलेसम्म रोकियो किन ? अब हाम्रो पहाडी भेगमा झन् महाधिवेशन सम्भव छैन । साउनमा जिल्ला अधिवेशन गर्नका लागि कसरी सम्भव छ ? मैले आपत्ति जनाएको छु, यो महिना भनेको खेतीपाती गर्ने सिजन हो, त्यसमाथि कोभिडको चुनौती थपिएको छ । 



अहिले महाधिवेशन गर्नु भनेको मूर्खताबाहेक केही होइन । कोभिडको कारणले पाहुनालाई समेत नआऊ है भनेर मानिसहरुले भनिरहेका छन् । यो अवस्थामा अधिवेशन तोक्नु कसरी ?

युवा नेतृत्वको बहस

कांग्रेसमा बहस हुँदै आएको युवा नेतृत्व भनेको के हो ? युवा भनेको फौजीमा लाग्नेजस्तो खोजेर हुँदैन । युवामा हुनुपर्ने, नेतृत्व दिन लायक क्षमता विकास भएको हुनुपर्छ । सभापतिसँगको भर्चुअल बैठकमा पनि यो विषय उठेको थियो । त्यहाँ मैले भनेको छु– युवाहरु मात्र भनेर हुँदैन, सुरुमा त तपाईंहरु एक हुनुपर्यो । पार्टीमा अहिलेसम्म के भएको कारणले यहाँ पुग्यो अब के गर्छौं भन्ने न्यूनतम भिजन आउनुपर्यो । 

अहिले परिवर्तन चाहिएकै हो । युवाहरु अगाडि आउने हो भने उनीहरुले पनि प्रस्ट भिजन ल्याउनुपर्यो । हिजो रामचन्द्र, शेरबहादुरहरु आउनुभयो, तर फरक के आयो ? यो विषयमा समीक्षा हुनुपर्यो । अहिले गगन थापालगायत साथीहरुले नयाँ भिजन त ल्याउनुपर्यो नि ! उहाँहरु पनि बुढाहरुकै पथमा लाग्नुभयो भने त के युवा ? अहिले ७७ जिल्लामा पुगेर संगठित गर्ने न्यूनतम काम त गर्नुपथ्र्यो नि ! हामीले बेला–बेलामा भेट हुँदा भनेकै हो– तपाईंहरु जिल्लामा आउनुहोस् । तर, उहाँहरु काठमाडौंमै बसेर वक्तव्यबाजी गरेर बस्नुभएको छ । त्यो परिवर्तन भयो त ? 

हामी युवाको सोच अर्को हुँदाहुँदै यो प्रस्ताव गलत तरिकाले पारित भयो है भनेर कहिले नोट अफ डिसेन्ट जारी भयो ? भएन नि ! त्यसकारण अब उमेरको हिसाबले होइन, विचारको हिसाबले लाग्नुपर्यो । 

८४ वर्षको उमेरमा युवाहरु जसरी गिरिजाबाबुले पार्टी चलाउनुभयो । पार्टीका कार्यकर्ता र जनताको मन जित्नका लागि युवाले भिजन ल्याउन सक्नुपर्छ । पाँच वर्ष नेताहरुले के गरे ? यो समयमा १–१ दिन मात्र जिल्ला घुमेको भए आज कांग्रेस निकै माथि हुन्थ्यो । जतिसुकै युवाको बहस गरे पनि बुढाहरुसँग एक टोली युवा गाँसिनेबाहेकको परिस्थिति बनेको देखिँदैन । 

परिवारवाद

घरीघरी परिवारका नाताहरुसँग जोडिएर कांग्रेसको बहस हुन्छ । कांग्रेसलाई जनताले विश्वास गरेका छन् । ऐतिहासिक पार्टी हो, हाम्रो । हामी जहिले पनि वैकल्पिक शक्तिका रुपमा अडिरहेका छौँ । अहिले अन्य दलले विकल्प दिन सकेका छैनन् । त्यसकारण कांग्रेस जहिले पनि अगाडि छ ।

तर, नयाँ पुस्ताले गाउँमा केही गर्न सकेको देखिँदैन । अहिले सभापतिले जे भने पनि सदर गर्ने अवस्था छैन । पार्टी सभापति जो भए पनि पदाधिकारीमा राम्रो भिजन भएको मानिस छान्ने बेला हो, यो । पदाधिकारी क्याप्चर गरेर अघि बढ्नुपर्छ । हिजो पो मनोनीतबाट लगेका सभापति हुन्थे, अहिले त्यो अवस्था छैन । अब पदाधिकारी सक्षम भयो भने सभापति जो भए पनि केही फरक पर्दैन । 

कसरी गर्ने महाधिवेशन ? 

महाधिवेशन कसरी गर्ने भन्ने अन्योल छँदै छ । हामीलाई कतिले म सभापति उठ्छु सहयोग हुनुपर्छ भनिरहनुभएको छ । तर, सभापति कस्तो बनाउने भन्नेबारे पनि भिजनसहितको कुरा अगाडि आउनुपर्छ ।

पदाधिकारी छनोटमा निकै गम्भीर हुनुपर्छ । महाधिवेशन गर्नका लागि नै चुनौती छन् । हिजो ५ वर्ष भइसक्दा पनि भातृसंगठनलाई निष्क्रिय राखियो । अधिवेशन पहिल्यै गर्दा पनि हुन्थ्यो । आजको दिनमा कांग्रेसजस्तो पार्टी वैधानिकतामा बहस गर्नुपर्ने अवस्थामा छ । यो अवस्थामा कार्यकर्ता चिन्तित हुनु स्वाभाविक छ । यसबारे नेतृत्व गम्भीर हुनुपर्छ । महाधिवेशनका सवालमा हामीले धेरै कुरा सोचेर मात्र अघि बढ्नुपर्छ । 

(राई नेपाली कांग्रेस, भाेजपुरका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘कांग्रेसमा अब अग्रजलाई सम्मान, युवालाई काम’– संखुवासभा सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १९:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया