काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस ताप्लेजुङका सभापति  लीला बाेखिमलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको महाधिवेशन गर्ने/नगर्ने अन्योलबीच हामी उभिएका छौँ । हामीलाई समय सान्दर्भिक, संगठनमा निरन्तर दिनरात नभनी लाग्ने मान्छे नेतृत्वमा चाहिएको छ । हामी राजनीतिमा लागेका मानिसका लागि सबैभन्दा ठूलो कुरा त संगठन नै हुँदो रहेछ । 

त्यसकारण पनि तलदेखि माथिसम्म सबै कार्यकर्ताको मनोभाव बुझ्ने नेतृत्व होस् भन्ने लाग्दो रहेछ । कहिलेकाहीँ पार्टीमा युवा नेता चाहियो पनि भनिन्छ, युवा मात्रै भनेर हुँदैन समयसापेक्ष चल्न सक्ने नेतृत्व चाहिएको छ । 

युवा नेतृत्वको बहस



युवा नेतृत्वको बहस सान्दर्भिक त छ, तर सबैलाई समेटेर लान सक्ने नेतृत्व हुनुपर्यो । अलिकति नबुझेको कुराचाहिँ के हो भने, युवा चाहियो भनेपछि नेविसंघको जिल्ला कार्यसमितिको अध्यक्षदेखि लिएर सदस्यसम्म सबै आउने हो कि नेतृत्वमा ? कताकता अप्ठ्यारो देखिन्छ । 

नेपाली कांग्रेसको विभिन्न निकायमा काम गर्न गाउँदेखि जिल्ला कार्यसमितिसम्म आउने हो कि ? अहिले त केन्द्रमा पनि युवादेखि वृद्धसम्म सबै उमेरका नेता हुनुहुन्छ । तर, युवा भन्दा कुन खालको युवा ल्याउने भन्ने कुरामा अलिकति कन्फ्युज हुन गएको छ । विभिन्न गाउँपालिकाबाट आउँदा मेरै जिल्लामा पनि नेविसंघ, तरुणदलदेखि महिलासम्म सबै आउने भए त्यसो हुँदा त ! 



मैले भन्न खोजेको के हो भने, युवालाई पनि ठाउँचाहिँ दिनुपर्यो । क्षमता भएका युवालाई जिम्मेवारी दिने हो भने संगठन निर्माणमा राम्रो हुन्छ । सबै नै युवा हुनुपर्छ भन्ने कुरा पनि व्यावहारिक छैन, तर सक्षम युवालाई जिम्मेवारी दिनुपर्यो । भातृसंगठनका कार्यकर्तालाई मात्र दिने हो वा पार्टीमा काम गरेकालाई दिने हो त्यो कन्फ्युजन हटाउनु पर्यो । 

कांग्रेसमा परिवारवाद

कांग्रेसमा परिवारवादको विषयलाई अलिकति ध्यान दिनुपर्ने छ । एउटै घरबाट दुईजना मन्त्री हुने, पदाधिकारी हुने समस्या त छ नि ! कतिपय परिवारमा त्यस्तो भएको देखिन्छ । एउटै घरको दुईजना केन्द्रीय सदस्य हुँदा पनि कार्यकर्ताको मनोबल घट्छ । यस्तो हुँदा दलित, महिला, जनजातिलगायतमा समस्या पर्न सक्छ । उनीहरुका लागि सिट कम हुन जान्छ । अब त्यस्तो  परिपाटी परिवर्तन गर्नुपर्छ । एउटै मान्छे होइन, पालो गर्नुपर्यो । भोलि अर्कोले पनि चलाएको नेतृत्व देखियोस् । खासमा परिवारवाद राम्रो कुरा होइन, त्यो हुनुहुँदैन भन्ने मेरो धारणा छ । एउटै ठाउँमा सधैँ एउटै मान्छे बस्ने हो भने अरु कार्यकर्ताको मनोबल अवश्य घट्छ । 

महाधिवेशन कसरी गर्ने ? 

महाधिवेशन गर्नुपर्ने चुनौती बढ्दै छ । हाम्रो पार्टीमा जिल्लामा भन्दा पनि केन्द्रीय नेतृत्वले विवाद उत्पन्न गरेका छन् । यहाँ हामीले क्रियाशील सदस्य दिँदा वडा वा पालिकाबाट सिफारिस मागेका छौँ । अन्य पार्टीबाट आएका साथीहरुलाई बाहिरबाटै सिफारिस गर्नु उचित हुँदैन । 

वडावडाबाट सिफरिस ल्याएर माइन्युट गरेरै सिफारिस गरेको थिएँ मैले । तर, केन्द्रमा त्यसलाई डाइरेक्ट छिराउने काम भयो । जिल्ला सभापतिलाई नै कब्जा गर्न खोज्ने कारणले यो विवाद देखिएको छ ।

विवादरहित भएका जिल्लालाई वडा अधिवेशन सुरु गरेको भए त्यो काम भइसक्थ्यो । बाहिर रहेर बदमासी गरेका, पार्टी छोडेका तर पछि गएर केन्द्रमा क्रियाशील नवीकरण गरेकाहरुबाट विवाद आएको छ । यस्तो अवस्थामा महाधिवेशन गरिहाल्नुपर्छ भन्ने देख्दिनँ, म । 

अहिले कोभिड बढिरहेको छ । मेरो ताप्लेजुङ जिल्लाकै चारवटा वडा सिल्ड गरिएको छ । हस्पिटल भरिन थालेका छन् । व्यवस्थापन पनि राम्रो गर्न सकिएको छैन । जुन–जुन जिल्लामा विवाद छ, त्यो केन्द्रीय नेतृत्वले नै ध्यान दिएर समाधान गर्नुपर्छ । जहिल्यै पनि महाधिवेशन नजिक आउँदा क्रियाशीलको विवाद उत्कर्षमा पुग्ने गरेको छ, त्यो के कारणले भएको छ भन्ने त स्पष्ट हुनुपर्यो नि ! केन्द्रीय नेताहरुले जुन–जुन ठाउँमा जिम्मा लिनुभएको छ, त्यहाँ समाधान हुनुपर्छ । 

पहाडी जिल्लामा बाढी–पहिरोले चुनौती झनै बढ्दै गएको छ । वैधानिकता जोगाउने कुरा ठूलो समस्या होइन । कुनै न कुनै ढंगमा समाधान खोज्दा हुन्छ । हामी सरकारमा छौँ, त्यसकारण अझै जिम्मेवार बन्नुपर्ने बेला छ । लकडाउन भनिरहिएको छ, अधिवेशन पनि भनिदिँदा कुरा मिलेन नि ! अर्को कुरा, स्थानीय चुनाव नजिकै आइसकेको छ, यसकारण पनि पार्टीले सोचविचार गर्नुपर्छ । स्थानीय चुनाव पहिला हुनुपर्यो, नत्र त्यसले पनि समस्या पार्ने देख्छु, म । 

(बाेखिम नेपाली कांग्रेस, ताप्लेजुङका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १८:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया